निजी क्षेत्रको सहकार्यमा पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ : मन्त्री पाण्डे


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सरकार र निजी क्षेत्रको संयुक्त प्रयासमा पर्यटन क्षेत्रको विकास गर्न सकिने बताएका छन् ।

कैलालीको धनगढीमा  आयोजित सुदूरपश्चिम प्रदेशको पर्यटन विकास रणनीतिसम्बन्धी अन्तरक्रियामाका क्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री पाण्डेले निजी क्षेत्र अगाडि नबढेमा सरकारको एकल प्रयासले मात्रै पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताए। दक्षिण र पश्चिममा भारतसँग टाँसिएकाले सुदूरपश्चिम प्रदेशलाई पर्यटनको गन्तव्यस्थल बनाउन सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले यसका लागि आवश्यक पूर्वाधार जुटाउने वातावरण बनाउन जरुरी रहेकामा जोड दिए। मन्त्री पाण्डेले समयानुकूल पर्यटन र हवाई नीति बनाउन लागिएको जानकारी दिए।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटनको विकासका लागि नीतिगत सुधार जरुरी रहेको बताए । उनले निर्माणाधीन सेती लोकमार्गमार्फत सुदूरपश्चिम प्रदेशलाई चीनसँग जोड्ने नाका खुल्न सकेमा ठूलो सङ्ख्यामा विदेशी पर्यटक नेपालकै बाटो भएर कैलास मानसरोवर पुग्न सक्ने भई यसबाट प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने देखिएकाले आफूले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक पटक छलफल गरेको बताए ।

कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधिले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास र स्तरोन्नति, उरै भन्ज्याङ हुँदै कैलास मानसरोवर जाने बाटोको व्यवस्था, गौरीफन्टा र वनबासा नाकाको स्तरोन्नति, सुक्खा बन्दरगाह निर्माण, उड्डयन क्षेत्रको सबलीकरण र नीतिगत सुधारमा सहजीकरण गर्नुपर्ने सुझाव दिएका थिए ।

 

२०८१ मंसिर २४, सोमबार ०५:४६ प्रकाशित
ट्रेन्डिङ समाचार