काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हालसम्म सम्पन्न खेलहरूको पदक तालिकामा वाग्मती प्रदेशले अग्रता कायम गरेको छ । तर प्रतियोगिताको सहआयोजकसमेत रहेको कर्णाली प्रदेश भने अहिलेसम्म एउटै पदक जित्न नसक्दा पदक तालिकामा शून्य अवस्थामा छ ।
प्रतियोगितामा वाग्मतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी कुल ४५ पदक जित्दै शीर्ष स्थान सुरक्षित गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) १२ स्वर्ण, चार रजत र चार कास्य गरी २० पदकसहित दोस्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण, २० रजत र १९ कास्य गरी सर्वाधिक ५० पदक जितेको छ । तर स्वर्ण पदकको सङ्ख्याका आधारमा आर्मी वाग्मती र एनआरएनभन्दा पछाडि छ । नेपाल पुलिस क्लबले आठ स्वर्ण, १५ रजत र १८ कास्य गरी ४१ पदक हात पारेको छ ।
सहआयोजक कर्णाली नै पदकविहीन
प्रतियोगिताको सहआयोजक प्रदेश कर्णाली अहिलेसम्म पदकविहीन रहनु यसपटकको राष्ट्रिय खेलकुदको चासोको विषय बनेको छ । आफ्नै प्रदेशमा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन भइरहँदा पनि खेलाडीले कुनै विधामा पदक जित्न नसक्नुले प्रदेशको खेलकुद तयारी, पूर्वाधार, जनशक्ति र लगानीको अवस्थामाथि प्रश्न उठाएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले जनशक्तिको अभाव, भौगोलिक विकटता र पर्याप्त तयारी हुन नसक्दा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको बताएका छन् ।
कर्णालीको भौगोलिक अवस्थिति र स्रोतसाधनको सीमिततालाई चुनौतीका रूपमा लिन सकिए पनि राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धात्मक क्षमता विकास गर्न प्रदेशले खेलाडी उत्पादन, प्रशिक्षण र पूर्वतयारीमा कस्तो प्राथमिकता दिएको छ भन्ने प्रश्नसमेत उठेको छ ।
अन्य प्रदेश र विभागीय टोलीको अवस्था
पदक तालिकाअनुसार गण्डकी प्रदेशले चार स्वर्ण, एक रजत र चार कास्य गरी नौ पदक जितेको छ । कोसी प्रदेशले चार स्वर्ण, एक रजत र एक कास्य गरी छ पदक प्राप्त गरेको छ ।
सशस्त्र प्रहरी बल (एपीएफ) ले तीन स्वर्ण, एक रजत र एक कास्य गरी पाँच पदक जितेको छ । लुम्बिनी प्रदेशले दुई स्वर्ण, छ रजत र तीन कास्य गरी ११ पदक प्राप्त गर्दा सुदूरपश्चिमले दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक जितेको छ ।
मधेस प्रदेशले भने दुई कास्य पदकमात्र जितेको छ । कर्णाली प्रदेशको पदक सङ्ख्या शून्य छ ।
यी खेलमा जारी छ प्रतिस्पर्धा
राष्ट्रिय खेलकुद परिषद्का अनुसार दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत मंसिर ८ गतेदेखि पौडी, शारीरिक सुगठन, फुटबल, क्रिकेट, बास्केटबल, टेनिस, फुलकन्ट्याक्ट कराते, बक्सिङ र जिम्न्यास्टिकलगायत खेल सञ्चालन भइरहेका छन् ।
तीमध्ये पौडी र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेका छन् भने अन्य खेलमा प्रतिस्पर्धा जारी छ । प्रतियोगिताका बाँकी खेलको नतिजासँगै पदक तालिकामा थप फेरबदल हुने अपेक्षा गरिएको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता केवल पदक जित्ने प्रतिस्पर्धा मात्र होइन, प्रदेश तथा विभागीय टोलीको खेल क्षमता, लगानी, प्रशिक्षण र खेल पूर्वाधारको अवस्थासमेत मापन गर्ने अवसर हो । त्यसैले पदक तालिकाले देखाएको उपलब्धिसँगै कमजोर प्रदर्शन गरेका प्रदेशका खेलकुद संरचना र तयारीको समीक्षा पनि उत्तिकै आवश्यक देखिन्छ ।




प्रतिक्रिया