काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोभन्दा बढी सुनजस्तो देखिने पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्। हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत काठमाडौं आएका उनीहरूलाई विमानस्थलमा जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका दुवै महिलाले सुनजस्तो देखिने पदार्थ शरीरभित्र र भित्री वस्त्रमा लुकाएर ल्याएका थिए। उनीहरूको साथबाट कुल दुई किलो ३४८ ग्राम उक्त पदार्थ बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मङ्गलबार राति उनीहरूलाई पक्राउ गरिएको हो।
विदेशबाट हवाईमार्ग हुँदै नेपाल प्रवेश गर्ने क्रममा असामान्य तरिकाले सुन तस्करी गर्न खोजिएको आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
बरामद पदार्थ वास्तविक सुन हो वा होइन भन्ने यकिन गर्न परीक्षण भइरहेको प्रहरीले जनाएको छ। परीक्षणको नतिजापछि सुनको गुणस्तर, मूल्य तथा घटनासँग जोडिएका थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।
प्रहरीले घटनामा अन्य व्यक्ति वा समूहको संलग्नता रहे–नरहेको विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया