काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तोकेका ३३ स्थानमा स्वदेशी फूलको बिक्री सुरु भएको छ। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले तोकेको स्थानमा बिहानैदेखि फूल बिक्री तथा खरिद गर्नेको भीड लागेको छ।
स्वयम्भू भगवान पाउ क्षेत्रमा पनि बिहानैदेखि व्यापारी र उपभोक्ताको चहलपहल बढेको छ।
नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ अनुसार प्लास्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिबन्ध लगाएको छ। काठमाडौँ महानगरपालिकाले पनि विगतका वर्षदेखि नै प्लास्टिकजन्य फूल तथा मालाको बिक्री वितरणमा निषेध गर्दै आएको छ।
स्वदेशी फूलको मागलाई नेपाली उत्पादनबाटै पूरा गर्ने र स्थानीय किसानले उत्पादन गरेका फूललाई बजार सुनिश्चित गर्ने उद्देश्यले महानगरपालिकाले बिक्रीका लागि निश्चित स्थान तोकेको जनाएको छ। यस व्यवस्थाले किसानलाई उपभोक्तासम्म प्रत्यक्ष पहुँच पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया