काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरिएको छ।
सीआईबीले नेपाल र बहराइनबीचको विश्वकप छनोट खेल, खेल सामग्री खरिद, टिकट बिक्री तथा प्रायोजन रकममा अनियमितता भएको निष्कर्ष निकालेको छ। दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य बनाउने वातावरण सिर्जना गरेको र एन्फाको आर्थिक कारोबारमा अनियमितता भएको पनि प्रतिवेदनमा उल्लेख छ।
एन्फाले बहराइनसँगको खेलसम्बन्धी सम्झौता गर्दा सम्बन्धित निकायको स्वीकृति नलिएको, टिकट बिक्रीको विवरण नराखेको तथा खेल सामग्री खरिदमा सार्वजनिक बोलपत्र प्रक्रिया पालना नगरेको आरोप छ।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चारै जनाविरुद्ध खेलकुद विकास ऐन, २०७७ र मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अभियोग लगाउँदै मुद्दा दायर गरेको हो। कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे सीआईबीको नियन्त्रणमा छन् भने अध्यक्ष नेम्बाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतबाट म्याद जारी गर्न अनुरोध गरिएको छ।




प्रतिक्रिया