भिजिट भिसामा दलालको पुरानो खेल फेरि सुरु ! महानिर्देशक तिवारी भन्छन्– ‘विचौलियाको घेरा तोडिसक्यौँ’


काठमाडौं । भिजिट भिसामा विदेश जाने नेपाली नागरिकलाई अनावश्यक दुःख दिने पुरानो प्रणाली अन्त्य गरेपछि दलाल तथा विचौलिया समूह फेरि सक्रिय हुन थालेको अध्यागमन विभागका महानिर्देशक  रामचन्द्र  तिवारीले बताएका छन् ।

विभागले लागू गरेको नयाँ व्यवस्थाबाट नागरिकलाई सहज भएपछि पुरानै प्रावधान ब्युँताएर आफ्नो प्रभाव र असुलीको बाटो फर्काउन केही समूह सक्रिय भएको उनको दाबी छ । तर त्यस्ता प्रयासलाई आफूहरूले असफल पारिसकेको उनले बताए ।

गत वर्ष कात्तिकदेखि आवश्यक कागजपत्र पुगेका नागरिकलाई शंकाकै आधारमा विदेश भ्रमणबाट नरोक्ने गरी सरकारले नयाँ मापदण्ड लागू गरेको थियो । नयाँ व्यवस्थापछि भिजिट भिसामा विदेश जाने नागरिकले विगतमा जस्तो अनावश्यक झन्झट र रोकावट व्यहोर्नु नपरेको विभागको भनाइ छ ।

महानिर्देशक तिवारीका अनुसार नयाँ व्यवस्था लागू हुनुअघि भिजिट भिसामा विदेश जाने नागरिकलाई विभिन्न कागजात, होटल बुकिङ, दुईतर्फी टिकटलगायतका आधारमा रोक्ने गरिएको थियो । तर सबै पक्षसँग छलफल तथा उच्चस्तरीय समितिको सिफारिसपछि तीमध्ये केही प्रावधान हटाएर नागरिकलाई सहजीकरण गरिएको हो ।

‘नागरिक रोक्ने, अनि बेचिन्छन् भन्ने भाष्य बनाउने खेल’

विभागमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक तिवारीले भिजिट भिसासम्बन्धी पुरानो अभ्यास फर्काउन खोजिएको संकेत आफूले देखेको बताए ।

उनले नागरिक विदेश जान योग्य छन् कि छैनन् भन्ने विषयलाई व्यक्तिपिच्छे ‘सब्जेक्टिभ’ ढंगले मूल्यांकन गरेर रोक्ने र त्यसपछि नेपाली नागरिक विदेशमा बेचिने गरेको भाष्य निर्माण गर्ने प्रवृत्तिमाथि प्रश्न उठाए । ‘नेपाली नागरिक विदेश जान योग्य छ कि छैन भनेर सब्जेक्टिभ आधारमा जाँच्ने र फर्काउने, भाष्यचाहिँ नागरिकहरू बेचिन्छन् भनेर बनाउने यो दलालहरूको इकोलोजीले जे बनाउन खोजेको छ, त्यसमा कतै न कतै यस्ता भ्वाइसहरू आउन थालेको देख्छु।’

उनका अनुसार भिजिट भिसालाई सहज र नागरिकमैत्री बनाउनेबित्तिकै महिलाहरू विदेशमा बेचिने क्रम बढेको भन्दै भ्रम फैलाउने प्रयास भएको छ ।

तथ्यांकले के देखाउँछ ?

विभागले उपलब्ध गराएको तथ्यांक प्रस्तुत गर्दै महानिर्देशक तिवारीले विगतको तुलनामा अहिले भिजिट भिसामा विदेश जाने महिलाको संख्या कम रहेको बताए ।

तर नयाँ मापदण्ड लागू भएपछि महिलाहरूको संख्या बढेको र विदेशमा महिला बेचिने क्रमसमेत बढेको भन्दै केही समूहले प्रचार गरिरहेको विभागको दाबी छ ।

विभागका अधिकारीहरूका अनुसार सहजीकरण गरिएको अवस्थामा पनि भिजिट भिसामा विदेश जाने नेपालीको समग्र संख्या उल्लेख्य रूपमा फरक देखिएको छैन ।

यसले मापदण्ड सहज बनाएकै कारण महिला बेचबिखन बढेको भन्ने दाबीलाई तथ्यांकले पुष्टि नगरेको विभागको तर्क छ ।

दुईतर्फी टिकटदेखि होटल बुकिङसम्मको प्रावधान हटाइयो

भिजिट भिसामा विदेश जाने नागरिकलाई सहजीकरण गर्ने क्रममा दुईतर्फी टिकट, होटल बुकिङलगायतका प्रावधान हटाइएको विभागले जनाएको छ ।

यस्ता प्रावधानका कारण वास्तविक यात्रुहरू समेत अनावश्यक प्रक्रियामा अल्झिनुपर्ने तथा अध्यागमनमा व्यक्तिपिच्छे फरक व्यवहार हुने अवस्था सिर्जना भएको विभागको निष्कर्ष थियो ।

उच्चस्तरीय समितिको सिफारिस तथा सम्बन्धित सरोकारवालासँगको छलफलपछि नागरिकलाई अनावश्यक रूपमा रोक्नेभन्दा कानुन र उपलब्ध प्रमाणका आधारमा निर्णय गर्ने प्रणाली अघि बढाइएको विभागको भनाइ छ ।

अख्तियारको अनुसन्धानपछि बदलियो भिजिट भिसाको प्रणाली

भिजिट भिसाका नाममा विगतमा हुँदै आएको संगठित असुली तथा अनियमितताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विस्तृत अनुसन्धान भएपछि सरकारले पुरानो मापदण्ड पुनरावलोकन गरेको थियो ।

त्यसपछि शंकाकै आधारमा नागरिकलाई रोक्ने पुरानो अभ्यास हटाउँदै आवश्यक कागजात पूरा भएका नागरिकलाई विदेश भ्रमणमा सहजीकरण गर्ने नीति अघि सारिएको हो ।

विभागका अधिकारीहरूको दाबीअनुसार यससँगै भिजिट भिसामा लामो समयदेखि कायम रहेको ट्राभल एजेन्सीदेखि अध्यागमनसम्मको सम्भावित ‘सेटिङ’ र बिचौलिया प्रभावको पुरानो घेरा कमजोर बनेको छ ।

त्यही कारण पुरानो प्रणालीबाट लाभ लिँदै आएका समूह पुनः सक्रिय भएको विभागको विश्लेषण छ ।

अध्यागमन सुधारको बृहत् योजनामा विभाग

महानिर्देशक तिवारीले अध्यागमन सुधारलाई भिजिट भिसाको मापदण्ड परिवर्तनमा मात्रै सीमित नराखिएको स्पष्ट पारे ।

पूर्वमुख्य सचिवको नेतृत्वमा अध्यागमन सुधारका लागि गठन भएको कार्यदलले दिएको सुझाव र स्पष्ट कार्ययोजनाका आधारमा विभाग व्यापक सुधारको प्रक्रियामा अघि बढिरहेको उनले बताए ।

नागरिकलाई अनावश्यक दुःख नदिने, सेवाप्रवाहलाई सहज बनाउने तथा बिचौलियाको प्रभाव घटाउने गरी अध्यागमन प्रणालीलाई थप व्यवस्थित बनाउने काम भइरहेको महानिर्देशक तिवारीले जनाए ।

विभागको दाबीअनुसार अबको चुनौती भनेको नागरिकमैत्री सुधारलाई निरन्तरता दिँदै पुरानो बिचौलिया संरचनालाई पुनः जरा गाड्न नदिनु हो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार