कालीप्रसाद पराजुलीलाई बढुवा लगत्तै अख्तियारको जिम्मेवारी, ऊर्जा सचिव दुवाडी नेपाल ट्रस्टमा सरुवा,उर्जा मन्त्रालय सचिवविहीन


काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा कालीप्रसाद पराजुलीलाई पदस्थापन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेलगत्तै पराजुलीलाई अख्तियारको सचिवको जिम्मेवारी दिइएको हो ।

अख्तियार केही समयदेखि सचिवविहीन अवस्थामा रहँदै आएको थियो । पराजुलीको पदस्थापनसँगै आयोगले नयाँ सचिव पाएको छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरेको छ । दवाडीलाई नेपाल ट्रस्टमा पठाइए पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भने तत्काल नयाँ सचिव पठाइएको छैन ।

यससँगै महत्वपूर्ण मन्त्रालयमध्ये एक मानिने ऊर्जा मन्त्रालय सचिवविहीन बनेको छ । बुधबारको मन्त्रिपरिषद् निर्णयसँगै एकातर्फ लामो समयदेखि सचिवविहीन रहेको अख्तियारले सचिव पाएको छ भने अर्कोतर्फ ऊर्जा मन्त्रालय सचिवविहीन बनेको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार