लोकसेवाको पहिलो विज्ञापन खुल्यो  तर सिट खुम्चियो,सहसचिवमा २९ सिट मात्रै

लोकसेवा नखुल्ने त्रासबीच परीक्षा प्रक्रिया अघि बढ्यो, ओ एण्ड एमको असर—सिट घट्दा प्रतिस्पर्धा थप चर्किने


सागर पण्डित,काठमाडौं ।

लोकसेवा आयोगले चालु आर्थिक वर्षको परीक्षाका लागि  आज  बुधबार पहिलोपटक सहसचिवस्तरको विज्ञापन खुलाएको छ। लामो समयदेखि लोकसेवाको विज्ञापन खुल्ने–नखुल्ने अन्योल र त्रासबीच आयोगले सहसचिवस्तरबाटै चालु वर्षको नियमित परीक्षा प्रक्रिया अघि बढाएको हो।

आयोगले अप्राविधिकतर्फ १२, प्राविधिकतर्फ ८ र स्वास्थ्य सेवातर्फ ९ गरी कुल २९ सहसचिव पदका लागि आवेदन माग गरेको छ। आयोगका अनुसार विज्ञापनमा खुला तथा विभिन्न समावेशी समूहका पदसमेत समेटिएका छन्।

तर यसपटक सहसचिवको सिट संख्या भने विगतको तुलनामा निकै कम छ। संघीय मन्त्रालय तथा मातहतका निकायको संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षणका क्रममा सहसचिवसहित झण्डै दुई हजार पद कटौती गरिएकाले त्यसको प्रत्यक्ष असर लोकसेवाको विज्ञापनमा परेको हो।

लोकसेवा खुल्यो, तर सिट खुम्चियो

लोकसेवा आयोगको विज्ञापनको प्रतीक्षामा रहेका परीक्षार्थीका लागि बुधबारको विज्ञापनले परीक्षा प्रक्रिया अघि बढेको स्पष्ट संकेत दिएको छ। तर सीमित पदका कारण उपलब्ध अवसरका लागि प्रतिस्पर्धा भने थप चर्किने देखिएको छ।

विशेषगरी लामो समयदेखि सहसचिव पदका लागि तयारी गरिरहेका प्रशासन सेवाका अधिकृतहरूका लागि यसपटकको सीमित सिट महत्वपूर्ण बन्नेछ। ओ एण्ड एमका नाममा पद संरचना घटाइएपछि बढुवा तथा खुला प्रतिस्पर्धाबाट सहसचिव बन्न चाहने कर्मचारीको अवसरसमेत संकुचित भएको छ।

दुई हजार पद कटौतीको असर लोकसेवामा

सरकारले संघीय मन्त्रालय तथा मातहतका निकायको संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षण गर्दा सहसचिवसहित झण्डै दुई हजार पद कटौती गरेको थियो। त्यसको प्रभाव अब लोकसेवा आयोगबाट हुने पदपूर्तिमा समेत देखिन थालेको हो।

सहसचिवको विज्ञापनमै पद संख्या घटेपछि चालु आर्थिक वर्षमा खुल्ने अन्य तहका विज्ञापनमा समेत विगतको तुलनामा पद संख्या कम हुन सक्ने देखिएको छ। यसले सरकारी सेवामा प्रवेश तथा सेवाभित्रै बढुवाको तयारी गरिरहेका कर्मचारी र परीक्षार्थीका लागि उपलब्ध अवसरलाई थप सीमित बनाउनेछ।

अवसर सीमित, प्रतिस्पर्धा कडा

बुधबारको विज्ञापनसँगै चालु आर्थिक वर्षमा लोकसेवा आयोगको नियमित परीक्षा प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। लामो समयदेखि विज्ञापनको प्रतीक्षामा रहेका परीक्षार्थीले अब परीक्षाको तयारीलाई निर्णायक चरणमा पुर्‍याउनुपर्ने अवस्था आएको छ।

तर यसपटक पद संख्या घटेको र आकांक्षीको संख्या ठूलो रहेको अवस्थामा सीमित सिटका लागि प्रतिस्पर्धा थप कडा हुने देखिएको छ। सहसचिवबाट सुरु भएको चालु वर्षको लोकसेवा विज्ञापनले एकातर्फ परीक्षा प्रक्रिया नियमित रूपमा अघि बढेको सन्देश दिएको छ भने अर्कोतर्फ सरकारी सेवामा उपलब्ध अवसर खुम्चिँदै गएको संकेतसमेत गरेको छ।

यस्तो छ सिट संख्या र थप विवरण

 

प्रतिक्रिया

ट्रेन्डिङ समाचार