काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।
नेपाल प्रहरीका अनुसार काठमाडौँ–धादिङ जोड्ने चन्द्रागिरि–२ चिसोपानीमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्ण भिरमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको छ भने परेवा भिर, जवाखोला र कमेरेभिरमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
यस्तै, बीपी राजमार्गको काभ्रे खण्डमा राति १० टनसम्मका मालवाहक सवारीलाई मात्र सञ्चालन अनुमति दिइएको छ। त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकअन्तर्गत रसुवाको उत्तरगया–५ खाल्टेमा बाढीले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
टोखा–छहरे तथा पासाङ ल्हामु राजमार्गका विभिन्न स्थानमा पनि बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

