बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र : प्रधानमन्त्री बालेन्द्र शाह


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र उपचारका काम तीव्र रूपमा भइरहेको बताउनुभएको छ। शनिबार साँझसम्म हवाई तथा स्थलमार्गबाट ७ हजार ५१४ जनाको उद्धार गरिएको सरकारले जनाएको छ।

उद्धारका लागि १६ वटा हेलिकप्टर परिचालन गरी २३६ उडान गरिएको छ भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १८ हजार ७०८ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्। रसुवा र नुवाकोटमा अस्थायी शिविर सञ्चालन गरी विस्थापित करिब ३ हजार ५०० नागरिकको बसोबास व्यवस्थापन गरिएको छ।

सरकारले सडक, सञ्चार र स्वास्थ्य सेवा पुनः सञ्चालनसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउने काम पनि जारी राखेको जनाएको छ। हालसम्म विभिन्न जिल्लाबाट ६७५ शव फेला परेको र पहिचानका आधारमा परिवारलाई जिम्मा लगाउने प्रक्रिया भइरहेको सरकारले जनाएको छ।

२०८३ भाद्र १४, आईतवार १२:१२ प्रकाशित
ट्रेन्डिङ समाचार