काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज तथा उद्धार अभियानअन्तर्गत हालसम्म २ हजार ४६५ जनाको उद्धार गरिएको छ।
सेनाका अनुसार भदौ १३ गते बिहान ८ बजेसम्म टिमुरे, स्याफ्रुवेशी, धुन्चे र मैलुङ क्षेत्रबाट हवाई माध्यममार्फत २ हजार २६५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १६३ जना विदेशी नागरिक छन्।
त्यस्तै, ३ए टनेल क्षेत्रबाट १९१ जना र स्थलमार्गबाट थप २०० जनाको उद्धार गरिएको सेनाले जनाएको छ। बाढी प्रभावितका लागि त्रिशूली र धुन्चेमा स्थापना गरिएका आपत्कालीन उपचार केन्द्रबाट हालसम्म १ हजार ७०६ जनाले स्वास्थ्य सेवा पाएका छन्।
उद्धार, उपचार तथा राहत वितरणका लागि प्रभावित क्षेत्रमा नेपाली सेनाका ६ हजार ७ सयभन्दा बढी फौज परिचालन गरिएको छ। सेनाले काठमाडौंँबाट स्थलमार्ग हुँदै त्रिशूली पुर्याइएको राहत सामग्री हवाई माध्यमबाट प्रभावित क्षेत्रमा पठाइरहेको जनाएको छ।
३ए टनेल क्षेत्रमा ३ हजार ६ सय केजी, मैलुङमा ५ सय केजी र बेत्रावतीमा २२० केजी राहत सामग्री हवाई माध्यमबाट पुर्याइएको छ। उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनासहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको १४६ सदस्यीय संयुक्त टोली पनि परिचालन गरिएको छ।


