काठमाडौं । रसुवाको भोटेकोशी बाढीले निम्त्याएको मानवीय संकटमा राजनीतिक दलहरू उद्धार तथा राहतका लागि एकजुट भएका छन्। सत्तारुढ र प्रतिपक्षी दलहरूले आफ्ना नेता, कार्यकर्ता तथा जनसंगठनलाई प्रभावित क्षेत्रमा परिचालन गरेका छन्।
रास्वपाको र्यापिड एक्सन टिम (र्याट)ले सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्य गरिरहेको छ। र्याटका अनुसार प्रभावित क्षेत्रबाट करिब ६०० जनाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई नुवाकोटका विभिन्न सेल्टरमा राखेर खाना तथा बसोबासको व्यवस्था गरिएको छ।
नेपाली कांग्रेसले रसुवा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति गठन गरी उद्धार, राहत र व्यवस्थापनमा पार्टीको संयन्त्र परिचालन गरेको छ। एमालेले पनि उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा पठाउनुका साथै अनेरास्ववियु, युवा संघलगायतलाई राहत तथा उद्धारमा खटाएको जनाएको छ।
नेकपा, जसपा नेपाल, आम जनता पार्टी, राप्रपा, श्रम संस्कृति पार्टीलगायतले पनि प्रभावित क्षेत्रमा नेता–कार्यकर्ता परिचालन गरेका छन्। दलहरूले स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्दै उद्धार, राहत तथा स्वास्थ्य सेवामा सहयोग गरिरहेका छन्।
राजनीतिक दलहरूले विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर नागरिकको उद्धार र राहतलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।


