काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरणमैत्री र प्रविधिमैत्री नेपाल निर्माणका लागि हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आवश्यक रहेको बताउनुभएको छ।
मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो २०२६’ उद्घाटन गर्दै उहाँले विद्युतीय सवारीको प्रयोगले इन्धन आयातमा निर्भरता घटाउँदै व्यापार घाटा न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो।
उहाँले विद्युतीय सवारीले कार्बन उत्सर्जन र सहरी वायु प्रदूषण घटाउन तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। अटोमोबाइल क्षेत्र राजस्व संकलन तथा रोजगारी सिर्जनाको महत्वपूर्ण आधार भएको बताउँदै उहाँले निजी क्षेत्र, सरकार र नागरिक समाजको सहकार्यबाट देशको समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
उपराष्ट्रपति यादवले नाडाको स्वर्ण जयन्तीका अवसरमा शुभकामना दिँदै अटो शोले नेपालको अटोमोबाइल क्षेत्रलाई आधुनिक प्रविधि र हरित ऊर्जातर्फ अघि बढाउन उत्प्रेरकको भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।


