विशेष महाधिवेशन मान्दिनँ, कांग्रेस एकता हुन्छ : देउवा


काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको पक्षमा आफू नरहेको बताएका छन्। सर्वोच्च अदालतबाट न्याय पाएपछि कांग्रेसमा पूर्ण एकता हुने उनको दाबी छ।

शनिबार महाराजगञ्जस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले विशेष महाधिवेशनविरुद्ध आफूहरूले मुद्दा दायर गरेको बताए। अदालतको पुनरवलोकन नभएसम्म यस विषयमा धेरै बोल्न नहुने उनको भनाइ छ।

देउवाले लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अत्यावश्यक रहेको भन्दै प्रेसले व्यक्तिपूजा नभई निष्पक्ष रूपमा काम गर्नुपर्ने बताए।

पाँच महिनापछि स्वदेश फर्किएका देउवाले सुदूरपश्चिम र डडेलधुरा जाने इच्छा व्यक्त गर्दै त्यहाँका जनताले आफूलाई सधैँ माया र समर्थन दिएको बताए। डडेलधुरामा विमानस्थल निर्माणलगायत बाँकी काम पूरा गर्ने प्रतिबद्धता पनि उनले जनाए।

२०८३ श्रावण ३०, शनिबार १५:२३ प्रकाशित
ट्रेन्डिङ समाचार