हुम्लामा ११ हजार बोतल अवैध मदिरा बरामद


काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–२ नावलथाङबाट प्रहरीले ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा र बियर बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार ५९४ कार्टुनमा रहेका ७ हजार १२८ बोतल चिनियाँ मदिरा तथा १९४ कार्टुनमा रहेका ४ हजार ६५६ बोतल बडवाइजर बियर बरामद गरिएको हो। बरामद मदिरा तथा बियरको कुल अनुमानित मूल्य ५१ लाख ९३ हजार ६ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

डीएसपी शंकर खड्काका अनुसार मदिरा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको हो। चिनियाँ मदिराको अनुमानित मूल्य प्रतिवोटल ५०० रुपैयाँ र बडवाइजर बियरको ३५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद मदिरा तथा बियर कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाको रोहबरमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बताए।

२०८३ श्रावण २९, शुक्रबार १२:२३ प्रकाशित
ट्रेन्डिङ समाचार