काठमाडौं । टिकटकमार्फत कपडा अर्डर गर्ने ग्राहकलाई लक्षित गर्दै ‘लक्ष्मी कलेक्सन स्टोर’ नामको खाताबाट ठगी भएको पाइएको छ। नवलपरासी पूर्वकी नानुमाया विकले छोरीका लागि कपडा अर्डर गर्दा अग्रिम भुक्तानी गरेको ९०० रुपैयाँपछि विभिन्न बहानामा बैंक स्टेटमेन्ट र कोड मागिएको थियो। त्यसपछि उनको खाताबाट २७ हजार रुपैयाँ निकालिएको छ।
त्यसैगरी, काठमाडौं बौद्धका छिरिङ लिम्जोम लामाको खाताबाट पनि सोही शैलीमा ५३ हजार रुपैयाँ झिकिएको छ। ठगहरूले आफूलाई प्रहरी अधिकारी भन्दै स्क्रिन सेयर गर्न लगाउने र मोबाइल बैंकिङ नचलाउन निर्देशन दिने गरेको पीडितहरूले बताएका छन्।
‘लक्ष्मी कलेक्सन स्टोर’ को टिकटक खातामा ३५ हजारभन्दा बढी फलोअर्स छन्। खाताबाट महिला तथा बालबालिकाका कपडाका भिडियोहरू पोस्ट हुने गरेकाले ग्राहकहरू झुक्किने गरेको देखिएको छ। सो खाताका भिडियोहरूको कमेन्टमा समेत विभिन्न व्यक्तिले आफू ठगिएको भन्दै अन्य प्रयोगकर्तालाई सचेत गराएका छन्।
प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत हुने अनलाइन ठगीका घटना बढिरहेका छन्। साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विद्युतीय कसुर तथा ठगीसम्बन्धी २० हजार ५२६ निवेदन दर्ता भएका छन्।
साइबर ब्युरोका प्रवक्ता एसपी दिलिप गिरीले अनलाइनबाट सामान खरिद गर्दा अग्रिम भुक्तानी नगर्न र सम्भव भएसम्म क्यास अन डेलिभरी प्रयोग गर्न आग्रह गरेका छन्।

