सरकारका गतिविधिप्रति कांग्रेस नेता आङ्देम्बेको चिन्ता


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

३२औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले सरकारका गतिविधि सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख भएको महसुस हुन थालेको बताएका हुन्।

उनले सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकार जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धि भएको उल्लेख गरे।

सङ्घीयतालाई बोझका रूपमा चित्रित गर्ने, प्रदेश संरचनामाथि प्रश्न उठाउने र समानुपातिक प्रतिनिधित्व कमजोर बनाउने बहसप्रति असन्तुष्टि जनाउँदै उनले कमजोरी र समस्या भए सुधार तथा समाधान गर्नुपर्ने बताए। तर जनसंघर्षबाट प्राप्त उपलब्धि नै मास्ने कुरा स्वीकार्य नहुने उनको भनाइ छ।

आङ्देम्बेले आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र अधिकार व्यवहारमै सुनिश्चित गर्दै राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्वसहितको सङ्घीयता संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्।

२०८३ श्रावण २४, आईतवार ११:१६ प्रकाशित
ट्रेन्डिङ समाचार