काठमाडौं ।नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७–२०३० को खोप सहकार्यबारे छलफल भएको छ। छलफलमा गाभीले नेपाललाई आगामी चार वर्षमा ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप र १ करोड ८० लाख ६० हजार डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ।
प्रस्तावअनुसार नेपालले १ करोड ७१ लाख डलर सहवित्तीय लगानी गर्नुपर्नेछ। बैठकमा राष्ट्रिय खोप कार्यक्रमको वित्तीय दिगोपन र घट्दो विकास सहायता तथा स्रोतका बीच खोप कार्यक्रमलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको थियो।
सन् २००१ देखि नेपालसँग सहकार्य गर्दै आएको गाभीले हालसम्म ५५ करोड डलरभन्दा बढी बराबरको खोप, कोल्ड चेन पूर्वाधार र स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गाभीले आगामी दिनमा पनि नेपाललाई सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ।
२०८३ श्रावण २३, शनिबार १६:३८ प्रकाशित

