भक्तपुर । मनहरा क्षेत्रमा डोजर चलाएर विस्थापित गरिएका सुकुमबासी परिवारले तत्काल पुनर्स्थापना र क्षतिपूर्तिको माग गरेका छन्।
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपालले शनिबार कोणसभा गर्दै भूस्वामित्वसहित स्थायी पुनर्स्थापना, क्षतिको उचित मूल्याङ्कन गरी क्षतिपूर्ति र समयसीमासहितको पुनर्स्थापना योजना सार्वजनिक गर्न सरकारसँग माग गरेको हो।
मोर्चाले भदौ १२ गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह सुरु गर्ने घोषणा गरेको छ। भूमिहीन तथा सुकुमबासीको लगत संकलन, प्रमाणीकरण, नापजाँच र निस्सा वितरण प्रक्रिया तत्काल अघि बढाउन पनि माग गरिएको छ।
मनहरासहित थापाथली, शान्तिनगर, गैरीगाउँ र जडीबुटी क्षेत्रमा लामो समयदेखि बस्दै आएका परिवारलाई वैकल्पिक व्यवस्थापनबिना बलपूर्वक विस्थापित गरिएको मोर्चाको आरोप छ।
२०८३ श्रावण २३, शनिबार १६:३० प्रकाशित

