रुग्ण राष्ट्रिय उद्योगलाई नयाँ जीवन दिन थालिएको प्रमको दावी : औषधिदेखि दुग्ध र वायुसेवासम्म सुधारका आशालाग्दा संकेत

नेपाल औषधि लिमिटेड नाफामा, नेपाल वायुसेवाको चार महिनाको आम्दानी ६ अर्ब २७ करोड; डीडीसीको भुक्तानी चक्र घट्यो, वैद्यखानाको कारोबार चार गुणाले बढेको प्रधानमन्त्रीको दाबी


काठमाडौं । वर्षौंदेखि घाटा, व्यवस्थापकीय कमजोरी र निराशाको चक्रमा फसेका केही राष्ट्रिय उद्योग तथा संस्थानमा सुधारका आशालाग्दा संकेत देखिन थालेको सरकारले जनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त, सक्षम र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित सरकारले सुरुदेखि नै सहजीकरण, उत्प्रेरणा, समन्वय र कानुन कार्यान्वयनलाई प्राथमिकतामा राखेको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले निरन्तरको प्रयास र ‘टिमवर्क’ का कारण केही राष्ट्रिय उद्योगमा सकारात्मक परिणाम देखिन थालेको दाबी गरेका हुन्।

उनका अनुसार लामो समयदेखि बन्द, घाटामा वा कमजोर अवस्थामा रहेका संस्थानलाई सुधार गर्न सकिन्छ भन्ने विश्वास पछिल्ला परिणामले थप बलियो बनाएको छ।

“जब नियत सफा हुन्छ र जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ, जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्, प्रधानमन्त्री शाहले भनेका छन्।

सरकारले सार्वजनिक गरेको विवरणअनुसार नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखाना विकास समितिमा पछिल्लो समय विभिन्न सुधार तथा उत्पादन–बिक्री विस्तारका प्रयास अघि बढाइएको छ।

पाँच संस्थानमा देखिएका आशालाग्दा संकेत

नेपाल औषधि लिमिटेड : घाटाबाट नाफातर्फ

वर्षौंदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको प्रधानमन्त्रीले बताएका छन्।

विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’  मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा वृद्धि भएको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको सरकारको दाबी छ।

चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।

सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी कार्यसूचीअनुसार आगामी तीन वर्षमा लिमिटेडबाट ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्यसमेत राखिएको छ।

यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारको उत्पादन तयारी अन्तिम चरणमा पुगेको र हाल ११ प्रकारका औषधि उत्पादन भइरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

 हेटौँडा कपडा उद्योग : बन्द कारखानामा फेरि परीक्षण उत्पादन

लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रयासमा अघि बढाइएको छ।

उद्योगको परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको र परीक्षणपछि नेपाल सरकारले नै सञ्चालन गर्ने योजना रहेको प्रधानमन्त्रीले बताएका छन्।

तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत थालिएको उनको भनाइ छ।

यसले लामो समयदेखि बन्द रहेको सरकारी उद्योग पुनः सञ्चालनमा ल्याउने सम्भावनालाई थप बलियो बनाएको सरकारको बुझाइ छ।

 नेपाल वायुसेवा निगम : चार महिनामा ६ अर्ब २७ करोड आम्दानी

नेपाल वायुसेवा निगमको आम्दानीमा पनि सुधार देखिएको प्रधानमन्त्रीको दाबी छ।

गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो।

यस अवधिमा निगमको सिट उपयोगिता (अकुपेन्सी) ८६ प्रतिशत पुगेको बताइएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ६ प्रतिशत बिन्दुले बढी हो।

त्यसैगरी कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि लिइएको ऋणको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता समेत यही अवधिमा भुक्तानी गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

 डीडीसी : किसानको बक्यौता भुक्तानी चक्र छोटिँदै

दुग्ध विकास संस्थान (डीडीसी) मा पनि सुधारका प्रयासले गति लिएको सरकारको दाबी छ।

किसानको रोकिएको बक्यौता भुक्तानीलाई प्राथमिकतामा राख्दै भुक्तानी चक्रलाई आठ महिनाबाट घटाएर दुई–तीन महिनामा झारिएको बताइएको छ।

यस अवधिमा किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ।

सुधारका प्रयास सुरु भएपछि दैनिक दूध बिक्रीमा ३५ प्रतिशत वृद्धि भएको र औसत दैनिक राजस्व ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको प्रधानमन्त्रीले बताएका छन्।

त्यस्तै, कानुनविपरीत विगतदेखि कर्मचारीलाई वितरण हुँदै आएको घ्यू तथा दूध सुविधा कटौती गरेर वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको दाबी गरिएको छ।

डीडीसीले अब खाडी मुलुकमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यातको तयारी गरिरहेको छ। नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्ने तयारीसमेत भइरहेको बताइएको छ।

सिंहदरबार वैद्यखाना : आयुर्वेदिक उत्पादनमा उल्लेख्य विस्तार

सिंहदरबार वैद्यखाना विकास समितिले पनि उत्पादन र कारोबारमा सुधार गरेको सरकारको दाबी छ।

सरकार गठन भएयता वैद्यखानाबाट ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरिएको प्रधानमन्त्रीले बताएका छन्।

गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी भएको दाबी गरिएको छ।

हाल निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा वैद्यखाना अघि बढिरहेको र हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेको बताइएको छ।

चालु आर्थिक वर्षमा यो संख्या बढाएर १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ।

त्यसैगरी पाउडर तथा ट्याब्लेट औषधि उत्पादनमा GMP मापदण्ड हासिल गर्ने र जडीबुटी तथा औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत अघि सारिएको छ।

‘राष्ट्रिय उद्योगलाई आफ्नै गोडामा उभ्याउन सकिन्छ’

प्रधानमन्त्री शाहले पछिल्ला परिणामले रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योग तथा संस्थानलाई समेत पुनर्जीवन दिन सकिने विश्वास बलियो भएको बताएका छन्।

उनले राष्ट्रिय उद्योगको सुधारलाई केवल संस्थानको नाफा–घाटासँग मात्र नभई देशको उत्पादन क्षमता, रोजगारी, आत्मनिर्भरता र सार्वजनिक सेवासँग जोडेर हेर्नुपर्ने सन्देश दिएका छन्।

“हामीमा इमान्दारिता र देशप्रतिको समर्पण रहिरह्यो भने रुग्ण अवस्थामा रहेका हाम्रा अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिन्छ भन्ने विश्वास बलियो भएको छ,” प्रधानमन्त्री शाहले भनेका छन्।

देशलाई उत्पादनमा आत्मनिर्भर बनाउने अभियानमा सबैको रचनात्मक साथ, सहयोग र विश्वास आवश्यक रहेको उनले बताएका छन्।

२०८३ श्रावण २३, शनिबार ११:२८ प्रकाशित
ट्रेन्डिङ समाचार