भदौभित्र स्वास्थ्य बीमाको बाँकी बक्यौता भुक्तानी गरिने
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बाँकी सबै बक्यौता आगामी भदौभित्र भुक्तानी गर्ने जनाएको छ। मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा हाल करिब १५ अर्ब रुपैयाँ भुक्तानी बाँकी रहेकामा १०–१२ अर्ब रुपैयाँ भदौभित्र राफसाफ गरिने जानकारी दिए।
मन्त्रालयले सरकारी अस्पतालको सेवा सुदृढ गर्दै निजी अस्पतालतर्फको बीमा खर्च नियन्त्रण गर्ने, बीमा सहभागिता बढाउन अनिवार्य बीमाको व्यवस्था गर्ने तथा स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन आवश्यक नीतिगत सुधार अघि बढाएको जनाएको छ। साथै, सुर्तीजन्य पदार्थबाट उठ्ने करको कानुनअनुसारको हिस्सा स्वास्थ्य क्षेत्रमा सुनिश्चित गर्नुपर्नेमा पनि मन्त्रालयले जोड दिएको छ।