गोठाटारमा भीषण आगलागी : काठको गोदामबाट सल्किएको आगोले १४ पसल जले, एक घाइते


काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेँलो पुल नजिक शनिबार राति भीषण आगलागी हुँदा काठको गोदामसहित १४ वटा पसलमा ठूलो क्षति पुगेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राति करिब ९ः१५ बजे रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाममा विद्युत् सर्ट भएर आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। काठको गोदाममा सल्किएको आगो छेउछाउका पसलमा तीव्र रूपमा फैलिएको थियो।

आगलागीबाट ओम काष्ठ मिल उद्योग, रिकन्डिसन तथा हेल्मेट पसल, बासु फर्निचर, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाइल पसल, मिठाइ पसल, हार्डवेयर पसल, चिया पसल, हिमेश गौतमको फर्निचर पसल, चटपटे तथा किराना पसल, कस्मेटिक पसल र स्टेशनरी पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाको नेतृत्वमा १०० जना, विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट प्रहरी निरीक्षक हिरा थापा मगरको नेतृत्वमा २५ जना तथा सिनामंगलबाट नेपाल सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक हेराम कुँवरको नेतृत्वमा ५० जना गरी कुल १७५ जना सुरक्षा कर्मी परिचालन गरिएको थियो।

यसका साथै नौ वटा दमकल, तीन वटा पानी ट्यांकर र स्थानीय बासिन्दाको सक्रिय सहयोगमा झन्डै दुई घण्टापछि राति करिब ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार निवासी ३७ वर्षीय नरेश थापा घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारका लागि नगर अस्पताल, मुलपानी लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर रेफर गरिएको छ। प्रहरीका अनुसार उनको अवस्था मध्यम रहेको छ।

आगलागीबाट भएको आर्थिक क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

 

२०८३ श्रावण १७, आईतवार ०९:३९ प्रकाशित
ट्रेन्डिङ समाचार