आगामी केही दिनभित्रै  संघीय सरकारको नयाँ प्रशासनिक संरचनाको पूर्ण चित्र आउने,   १० मन्त्रालय र १२७ निकायका ४,६८२ नयाँ दरबन्दी दर्ता

ओ एण्डएम कार्यान्वयनले गति  लिदै,  कुन मन्त्रालय र निकायमा कति दरबन्दी ? सूचीसहित


सागर पण्डित,काठमाडौं । 

सरकारले मन्त्रालय तथा मातहतका निकायको संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षण कार्यान्वयनलाई तीव्रता दिएको छ। पुनर्संरचित संगठन संरचनाअनुसार कायम भएका नयाँ दरबन्दीहरू राष्ट्रिय किताबखानामा दर्ता हुने क्रम तीव्र बनेसँगै प्रशासनिक पुनर्गठनले व्यवहारिक रूप लिन थालेको छ।

राष्ट्रिय किताबखानाले गठन गरेको विशेष कार्यदल (स्पेशल टास्क टिम) ले हालसम्म १० मन्त्रालय तथा तिनका मातहतका १२७ निकाय गरी कुल १३७ निकायको संगठन तथा पद दर्ता प्रक्रिया सम्पन्न गरेको छ। ती निकायमा शुक्रबारसम्म कुल ४ हजार ६८२ दरबन्दी आधिकारिक रूपमा दर्ता गरिएको राष्ट्रिय किताबखानाले जनाएको छ।

सरकारी स्रोतका अनुसार अझै अन्य मन्त्रालय तथा निकायका संगठन तथा दरबन्दी दर्ता प्रक्रिया पनि क्रमशः जारी रहेकाले आगामी केही दिनभित्रै देशभरको  संघीय सरकारकोनयाँ प्रशासनिक संरचनाको पूर्ण चित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ।

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल का अनुसार मन्त्रिपरिषद्को २०८३ असार ३२ गतेको निर्णय कार्यान्वयन गर्ने क्रममा प्राप्त भएका सबै फाइलको पद दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ।

पोखरेलले प्रशासनपोष्टसँग भने, “शुक्रबारसम्म १० मन्त्रालय तथा अन्तर्गतका थप १२७ निकाय गरी कुल १३७ निकायको संगठन तथा पद दर्ताका लागि प्राप्त भएका सबै फाइलको दर्ता प्रक्रिया सम्पन्न गरिएको छ।”

दर्ता भएका पदमध्ये विशिष्ट श्रेणीका १०, सहसचिव वा सोसरहका ८१ पद रहेका छन् भने बाँकी पद विभिन्न प्राविधिक तथा प्रशासनिक तहका छन्। कुल ४,६८२ पद नयाँ संगठन संरचनाअनुसार अभिलेखीकरण गरिएको किताबखानाले जनाएको छ।

यससँगै सरकारले अघि बढाएको प्रशासनिक पुनर्संरचनाको प्रक्रिया थप स्पष्ट चरणमा प्रवेश गरेको छ। सम्बन्धित मन्त्रालयहरूले अब रिक्त दरबन्दीको अन्तिम यकिन, पदपूर्ति आवश्यकताको निर्धारण तथा लोकसेवा आयोगमा माग पठाउने प्रक्रिया अघि बढाउने तयारी गरेका छन्। त्यसपछि आयोगले आवश्यक स्वीकृति प्राप्त पदका लागि विज्ञापन प्रक्रिया सुरु गर्ने अपेक्षा गरिएको छ।

हालसम्मको प्रगति

  • १० मन्त्रालयको संगठन तथा पद दर्ता सम्पन्न
  • १२७ मातहतका निकायको विवरण अभिलेखीकरण
  • कुल १३७ निकायको प्रक्रिया टुंगियो
  • ४,६८२ पद दर्ता
  • विशिष्ट श्रेणी : १०
  • सहसचिव वा सोसरह : ८१
  • अब रिक्त पद पहिचान गरी लोकसेवा आयोगमा माग पठाउने तयारी

                          कुन मन्त्रालय र निकायमा कति दरबन्दी ?

२०८३ श्रावण १५, शुक्रबार १८:३४ प्रकाशित
ट्रेन्डिङ समाचार