संकट समाधानमा सरकार सक्रिय : प्रधानमन्त्री शाह


काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीसहित संवेदनशील जिल्लाको अवस्था सामान्य बनाउन, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भाव कायम राख्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताउनुभएको छ।

शुक्रबार सिंहदरबारमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदसँग भएको छलफलमा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ पार्न राज्यका सबै संयन्त्र परिचालित भइसकेको जानकारी दिँदै नागरिकलाई संयमता अपनाउन आग्रह गर्नुभयो।

उहाँले प्रभावित नागरिकलाई सुरक्षा प्रत्याभूति दिलाउने, घटनाको निष्पक्ष छानबिन गर्ने र दीर्घकालीन शान्तिका लागि सबै पक्षसँग निरन्तर संवाद अघि बढाइने बताउनुभयो। साथै, सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबीच विश्वासको वातावरण बलियो बनाउन आग्रह गर्नुभयो।

छलफलमा सांसदहरूले प्रधानमन्त्रीको आग्रहअनुसार तत्कालै निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाउँदै धार्मिक अगुवा, नागरिक समाज र स्थानीय राजनीतिक दलसँग संवाद बढाउन तथा सामाजिक सञ्जालमा फैलिने भ्रम र अफवाह नियन्त्रणका लागि जनचेतनामूलक अभियान सञ्चालन गर्न सुझाव दिएका छन्।

२०८३ श्रावण १५, शुक्रबार २०:११ प्रकाशित
ट्रेन्डिङ समाचार