सागर पण्डित,काठमाडौं
चार महिनाको मौनतापछि प्रधानमन्त्री बालेन्द्र शाहले अन्ततः राजनीतिक संवादको ढोका खोलेका छन्। मधेशमा उत्पन्न तनावलाई मत्थर बनाउन उनले राष्ट्रपतिसँग भेट गरे, मधेशकेन्द्रित दलहरूसँग छलफल थाले र राष्ट्रका नाममा सम्बोधनसमेत गरे। ढिलो भए पनि यो सकारात्मक सुरुआत हो। लोकतन्त्रमा संकटको समाधान संवाद,सहकार्य, समन्वय र सहअस्तित्वबाटै खोजिन्छ भन्ने सन्देश यसले दिएको छ।
तर, एउटा गम्भीर प्रश्न अझै बाँकी छ।राजनीतिक संवाद सुरु भएको छ, अब प्रशासनिक संवाद कहिले सुरु हुन्छ ?
सरकार केवल राजनीतिक नेतृत्वले मात्र चल्दैन। मन्त्रीहरू प्रधानमन्त्रीका राजनीतिक सारथी हुन् भने मुख्य सचिव र सचिवहरू प्रशासनिक सारथी हुन्। सरकारका नीति, कार्यक्रम, बजेट र सुधारका प्रतिबद्धतालाई व्यवहारमा उतार्ने जिम्मेवारी अन्ततः सचिवहरुकै काँधमा हुन्छ। प्रधानमन्त्रीले राजनीतिक दलसँग जति संवाद गर्नुपर्छ, त्यति नै नियमित संवाद प्रशासनिक नेतृत्वसँग पनि गर्नुपर्छ।
यहीँ प्रधानमन्त्री चुकेको देखिन्छ। प्रधानमन्त्री नियुक्त भएको पहिलो दिन सचिवहरूसँग भएको छोटो औपचारिक भेटपछि चार महिनासम्म सचिवहरूसँग कुनै नियमित सामूहिक संवाद भएको देखिएको छैन। सरकारका नीति तथा कार्यक्रम, बजेट र शासकीय सुधारका १०० बुँदे कार्यसूची कार्यान्वयनबारे सचिवहरूलाई प्रत्यक्ष निर्देशन दिने, उनीहरूको अनुभव सुन्ने र समस्या बुझ्ने अभ्यास देखिएको छैन। परिणामस्वरूप सिंहदरबारभित्र संवादको अभाव बढ्दै गएको अनुभूति प्रशासनिक वृत्तमा व्यापक रूपमा सुनिन थालेको छ।
अझ अर्को प्रश्न पनि उत्तिकै गम्भीर छ–सुशासनलाई मुख्य राजनीतिक एजेन्डा बनाएको सरकारले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ ले परिकल्पना गरेको प्रशासनिक संरचनालाई कति आत्मसात् गरेको छ ? ऐनले प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव र सचिवको भूमिकालाई स्पष्ट रूपमा परिभाषित गरेको छ। तर व्यवहारमा प्रधानमन्त्रीले आफ्नो सचिवालय र मन्त्रीहरूको सचिवालयमार्फत समानान्तर संरचना विस्तार गरेको आरोप स्वयं प्रशासनिक वृत्तबाट उठिरहेको छ। यसले सचिवहरूको भूमिका कमजोर बनाएको मात्रै छैन, प्रशासनिक उत्तरदायित्वको शृङ्खलामै अन्योल सिर्जना गरेको छ भन्ने गुनासो पनि बढेको छ।
प्रधानमन्त्रीका मुख्य सल्लाकार भने मुख्य सचिव नै हुन्। सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव र सचिवहरुलाई मात्रै चिन्छ । प्रधानमन्त्रीले सचिवालयमा राखेका उनका मुख्य सल्लाहार लगायत २७ जनाको जम्बो टोलीलाई सुशासन ऐनले चिन्दैन् । आफ्नो मुख्य एजेण्डा सुशासन बनाएका प्रधानमन्त्री बालेनले सुशासन ऐनले चिन्ने र सो ऐन अनुसार जिम्मेवारी र अधिकार तोकिएका मन्त्री, मुख्य सचिव र सचिवहरुलाई खासै विश्वास गर्न सकेको देखिदैन्। उनीहरुको सल्लाह पनि प्रधानमन्त्रीले खासै नलिने गरेको बताइन्छ । उल्टो सुशासन ऐन माथि नै धावा बोल्दै प्रधानमन्त्री बालेनले सुशासन ऐनले नचिन्ने गरी मन्त्रीहरुको सचिवालयमा सचिवस्तरकै जम्बो सल्लाहकार राख्ने गलत निर्णय गरेका छन् ।
पछिल्ला दिनमा सिंगो प्रशासनिक संयन्त्र प्रधानमन्त्रीसँग असन्तुष्ट छ । त्यसमा पनि उनका प्रशासनिक सारथीका रुपमा रहेका अधिकांश सचिवले प्रधानमन्त्रीलाई भेट्न पनि पाएका छैनन् । नत प्रधानमन्त्रीले सचिवहरुलाई बोलाएर छलफल नै गरेका छन् । चैत्र १३ गते प्रधानमन्त्री भएको दिन सचिवहरुसँग छोटो छलफल गरेका प्रधानमन्त्रीले त्यसयता सरकारको मुख्य अवयवको रुपमा रहेका सचिवहरुलाई पुरै वेवास्ता र बाइपास गर्दै आएका छन् ।
सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको मुख्य औजार नै सचिवहरु हुन् भन्ने कुरा प्रधानमन्त्रीले शायद बिर्सेका छन् । सचिवहरुसँग भेट घाट गरेर सरकारको नीति तथा कार्यक्रम , बजेट र उनी प्रधानमन्त्री भएकै दिन ल्याइएको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूची कार्यान्वयनका लागि निर्देशन दिने काम समेत उनले गरेका छैनन् । उल्टो सचिवको मनोबल गिराउने गरी मन्त्रालयमा मन्त्रीको सचिवस्तरकै सल्लाकार राखेर उनले सचिवहरुलाई काम गर्ने वातावरण भत्काइदिएका छन् । यही विचमा उनले प्रशासन तर्फको २६ नम्बरमा रहेका सचिव गोविन्द बहादुर कार्कीलाई मुख्य सचिव बनाए ।मुख्य सचिव नियुक्तिको निर्णय पनि संवादमार्फत व्यवस्थापन गर्न सकिन्थ्यो। कनिष्ठ सचिवलाई मुख्य सचिव बनाउने निर्णय सरकारको अधिकार हो। तर त्यसको कारण, उद्देश्य र अपेक्षाबारे वरिष्ठ सचिवहरूसँग खुलेर छलफल भएको भए असन्तुष्टि धेरै हदसम्म कम हुन सक्थ्यो। नेतृत्वको बल निर्णयमा मात्र होइन, निर्णयपछि विश्वास कायम गर्ने क्षमतामा पनि हुन्छ।
सरकारको सबैभन्दा ठूलो सम्पत्ति भनेको विश्वास हो—राजनीतिक विश्वास र प्रशासनिक विश्वास।
राजनीतिक विश्वास टुटे सडकमा असन्तुष्टि देखिन्छ। प्रशासनिक विश्वास टुटे त्यसको असर कार्यालय, नीति कार्यान्वयन, सेवा प्रवाह र सुशासनमा देखिन थाल्छ। त्यसैले राजनीतिक संकट जत्तिकै प्रशासनिक संकट पनि खतरनाक हुन सक्छ।
प्रधानमन्त्रीज्यू,
राजनीतिक संवाद सुरु गर्नुभएको छ, त्यसका लागि धन्यवाद। अब सिंहदरबारभित्र पनि संवादको ढोका खोल्नुस्। मुख्य सचिवसँग नियमित बैठक बस्नुस्। सबै सचिवहरूसँग समय–समयमा सामूहिक छलफल गर्नुस्। सरकारका नीति, कार्यक्रम, बजेट र सुधारका कार्यसूची कार्यान्वयनबारे स्पष्ट निर्देशन दिनुस्। उनीहरूको अनुभव, सुझाव र असन्तुष्टि पनि सुनिदिनुस्।
किनभने सरकारको सफलता केवल राजनीतिक इच्छाशक्तिले सम्भव हुँदैन; त्यसलाई सफल बनाउने आधार सक्षम, प्रेरित र विश्वासमा बाँधिएको प्रशासनिक संयन्त्र हो।
यी सचिवहरु शासकीय सक्षमताका हिसाबले तपाई भन्दा धेरै अनुभवी, सक्षम र काविल छन् । देश विदेश बुझेका छन् , विकासको गति थाहा पाएका छन् । समृद्ध नेपालको खाका कोर्न जानेका छन् । मुख्य सचिव, सचिवहरुलाई विश्वासमा लिएर राजनीति र प्रशासनबीच पर्दै गएको अविश्वासको गाँठो समयमा नै फुकाउनुहोस् । नत्र तपाईलाई प्रशासनिक संकट व्यहोर्नुपर्नेछ । यसमा मुख्य सचिव गोविन्द बहादुर कार्कीले आवश्यक सहजीकरण गर्नुपर्ने आवाज पनि उठिरहेको छ ।
राजनीतिक गाँठो संवादले फुक्ला, प्रशासनिक गाँठो पनि संवादले नै फुक्छ।
यही बेला प्रधानमन्त्रीले राजनीति र प्रशासनबीच बढ्दै गएको दूरी घटाउन सके, त्यसले तत्कालको प्रशासनिक मनोबल मात्र होइन, सुशासनप्रतिको आफ्नै प्रतिबद्धतालाई पनि थप विश्वसनीय बनाउनेछ। यदि संवादहीनता लम्बियो भने त्यसको मूल्य सरकार स्वयंले प्रशासनिक जटिलता, कार्यान्वयनको सुस्तता र सुशासनप्रतिको अविश्वासका रूपमा चुकाउनुपर्ने जोखिम रहन्छ।
प्रधानमन्त्रीज्यू, राजनीति र प्रशासनबीचको विश्वास नै सफल शासनको आधार हो भन्ने कुरा कहिले बुझ्ने ?
राजनीति र प्रशासन राज्यका दुई फरक संस्था अवश्य हुन्, तर तिनको अन्तिम गन्तव्य एउटै हो—जनतालाई गुणस्तरीय सेवा , सुशासन दिने र समृद्ध राष्ट्र बनाउने । राजनीति जनादेशबाट जन्मिन्छ, प्रशासन संविधान, कानुन, संस्था र व्यावसायिक क्षमताबाट सञ्चालन हुन्छ। यी दुईबीच दूरी बढ्यो भने शासन कमजोर हुन्छ; विश्वास, संवाद र सहकार्य बढ्यो भने राज्य बलियो बन्छ।
राजनीतिले जनताको आकाङ्क्षा, भावना र परिवर्तनको चाहनालाई प्रतिनिधित्व गर्छ। प्रशासनले त्यही जनादेशलाई कानुन, नीति, योजना र कार्यान्वयनमार्फत परिणाममा रूपान्तरण गर्छ। त्यसैले राजनीति बिना प्रशासन दिशाविहीन हुन सक्छ भने प्रशासन बिना राजनीति परिणामविहीन बन्न सक्छ। एउटा निर्णयको स्रोत हो, अर्को त्यसको सफल कार्यान्वयनको आधार।
व्यावसायिक, निष्पक्ष र मेरिटमा आधारित कर्मचारीतन्त्र (Meritocracy) नै आधुनिक प्रशासनको आत्मा हो। यसको संरक्षण गर्नु राजनीतिक नेतृत्वको दायित्व हो। त्यस्तै, प्रशासनले पनि आफ्नो व्यावसायिक निष्पक्षता, कानुनी सीमारेखा र संस्थागत मर्यादा कायम राख्दै निर्वाचित सरकारप्रति पूर्ण निष्ठाका साथ काम गर्नुपर्छ। न राजनीति प्रशासनमाथि अनावश्यक दबाबको माध्यम बन्नु उचित हुन्छ, न प्रशासनले आफ्नो व्यावसायिक सीमाभन्दा बाहिर गएर राजनीतिक भूमिकामा प्रवेश गर्नु उचित हुन्छ।
असल शासन त्यतिबेला सम्भव हुन्छ, जब राजनीतिक नेतृत्वले प्रशासनलाई विश्वास, सम्मान र नैतिक स्वायत्तता दिन्छ, र प्रशासनले त्यसको प्रत्युत्तरमा उत्तरदायित्व, इमान्दारिता, दक्षता र परिणाममुखी कार्यसम्पादन प्रस्तुत गर्छ। प्रशासनलाई नियन्त्रण गर्ने होइन, सक्षम बनाउने नेतृत्व नै सफल नेतृत्व हो।
प्रधानमन्त्रीज्यू, सचिवहरू केवल कर्मचारी होइनन्; उनीहरू सरकारका संस्थागत स्मृति (Institutional Memory), नीति कार्यान्वयनका प्रमुख चालक र शासन प्रणालीका स्थायी आधारस्तम्भ हुन्। उनीहरूले विभिन्न सरकारसँग काम गरेका हुन्छन्, देश–विदेशका अभ्यास बुझेका हुन्छन्, सफलताका अनुभव र असफलताका पाठ बोकेका हुन्छन्। त्यसैले उनीहरूलाई केवल आदेश दिने होइन, सुन्ने, छलफल गर्ने र विश्वासमा लिने संस्कृतिले मात्रै सुशासनलाई जीवन दिन सक्छ।
यही कारण प्रधानमन्त्री र मुख्य सचिवबीच नियमित संवाद, तथा मुख्य सचिवसहित सबै सचिवहरूसँग समय–समयमा सामूहिक छलफल, कुनै औपचारिकता मात्र होइन—सुशासनको अनिवार्य शर्त हो। त्यस्ता बैठकमा सरकारका नीति, कार्यक्रम, बजेट र सुधारका लक्ष्यहरूको समीक्षा होस्, समस्या पहिचान होस् र समाधानको साझा मार्ग तय होस्। यसले निर्णय प्रक्रियालाई बलियो मात्र बनाउँदैन, सम्पूर्ण प्रशासनिक संयन्त्रमा उत्साह, उत्तरदायित्व र अपनत्व पनि बढाउँछ।
अन्ततः, राजनीति र प्रशासनबीचको सम्बन्ध आदेश र पालनाको होइन, विश्वास र साझेदारीको सम्बन्ध हो। एउटाले अर्काको भूमिका, मूल्य, सीमा र जिम्मेवारीको सम्मान गर्न सके मात्रै जनताले अनुभूति गर्ने सुशासन सम्भव हुन्छ।
राजनीतिक नेतृत्वले दिशा दिन्छ, प्रशासनले त्यसलाई गति दिन्छ। दिशा र गति एकै ठाउँमा जोडिँदा मात्रै राष्ट्रले समृद्धिको गन्तव्य भेट्छ। यही यथार्थलाई आत्मसात् गर्दै राजनीति र प्रशासनबीचको विश्वास, संवाद र सहकार्यलाई अझ सुदृढ बनाउनु आजको सबैभन्दा ठूलो शासकीय आवश्यकता हो भन्ने कुरा प्रधानमन्त्रीले समयमा नै बुझ्न जरुरी छ ।

