गोलीकाण्डबारे गृह प्रशासनको भूमिकामाथि प्रश्न

नागरिक अगुवा र अधिकारकर्मीले भने कप्तानगन्जमा सिधै घातक गोली चलेको आरोप


काठमाडौँ। सुनसरीको देवानगन्ज–३ कप्तानगन्ज घटनामा प्रहरीले आवश्यक संयमता नअपनाई घातक गोली प्रयोग गरेको आरोप लगाउँदै नागरिक अगुवा तथा मानव अधिकारकर्मीहरूले निष्पक्ष छानबिनको माग गरेका छन्।

बुधबार २६ जना नागरिक अगुवा र अधिकारकर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै दुई समुदायबीच भएको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्। उनीहरूले घटना कसरी र कसले भड्कायो भन्ने विषयमा तत्काल स्वतन्त्र छानबिन गर्न सरकारसँग माग गरेका छन्।

कप्तानगन्जमा भएको तनाव नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। अधिकारकर्मीहरूले भिड नियन्त्रणका क्रममा सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग भएको र घाइतेमध्ये धेरैलाई कम्मरभन्दा माथि गोली लागेको दाबी गरेका छन्।

उनीहरूले घाइतेको निःशुल्क उपचार, पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घटनाको छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्न माग गरेका छन्।

त्यस्तै, आन्तरिक सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरीको भए पनि तत्काल नेपाली सेना परिचालन गरिएको भन्दै सरकारसँग यसको औचित्य स्पष्ट पार्न आग्रह गरेका छन्।

गृह प्रशासन नागरिक सुरक्षाप्रति पर्याप्त संवेदनशील नभएको आरोप लगाउँदै उनीहरूले अन्तरसमुदायिक सद्भाव कायम राख्न सरकार र नागरिक दुवैलाई सचेत रहन आग्रह गरेका छन्।

२०८३ श्रावण १३, बुधबार २०:१४ प्रकाशित
ट्रेन्डिङ समाचार