सचिवहरूको हेरफेर : सञ्चारमा डा. पोखरेल, राधिका कर्णाली प्रदेशको प्रमुख सचिव

लक्ष्मीकुमारी बस्नेत तथ्यांक विभागमा, बाबुराम अधिकारी प्रधानमन्त्री कार्यालयमा, बागमतीमा कमल भट्टराई कामु प्रमुख सचिव


काठमाडौं । सरकारले उच्च प्रशासनिक तहमा सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायका सचिवहरूको सरुवा र जिम्मेवारी परिवर्तन गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई राष्ट्रिय तथ्यांक विभागको प्रमुख तथ्यांक अधिकारीमा सरुवा गरिएको छ। उनको स्थानमा हाल प्रमुख तथ्यांक अधिकारी रहेका डा. कमलप्रसाद पोखरेललाई सूचना तथा सञ्चार मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।

यस्तै, बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अतिरिक्त सचिवका रूपमा सरुवा गरिएको छ। अधिकारीको स्थानमा कमल भट्टराईलाई बागमती प्रदेशको कामु प्रमुख सचिवको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी अतिरिक्त सचिव राधिका अर्याललाई कर्णाली प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ।

यसैबीच सचिव वीरेन्द्र यादवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सुशासन तथा नतिजामूलक व्यवस्थापन   हेर्ने जिम्मेवारी तोकिएको छ।

सरकारले प्रशासनिक नेतृत्वलाई थप प्रभावकारी बनाउने उद्देश्यले सचिवहरूको जिम्मेवारी पुनःविन्यास गरेको जनाएको छ।

२०८३ श्रावण १३, बुधबार २१:०९ प्रकाशित
ट्रेन्डिङ समाचार