अपमान सहन नसकेर कार्यकाल सकिनुअघि नै सचिव शर्माको राजीनामा


काठमाडौं । सरकारको व्यवहारबाट आफू निरन्तर अपमानित भएको महसुस गरेका नेपाल सरकारका वरिष्ठ सचिव डा. गोविन्द प्रसाद शर्मा ले अनिवार्य अवकाशको मिति कुर्नुभन्दा अघि नै सचिव पदबाट राजीनामा दिएका छन्।

कृषि तथा वन क्षेत्रका अनुभवी र वरिष्ठ सचिवका रूपमा परिचित शर्मालाई आफ्नै विशेषज्ञताको क्षेत्रमा काम गर्न नदिई कृषि तथा वन मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानेर केही समय जिम्मेवारीविहीन अवस्थामा राखिएको थियो। त्यसपछि कृषि क्षेत्रका विज्ञ रहेका उनलाई एकाएक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारसम्बन्धी जिम्मेवारी दिइएको थियो। आफ्नो विज्ञता र अनुभवसँग मेल नखाने जिम्मेवारी दिइएको भन्दै उनी त्यसयता असन्तुष्ट रहँदै आएका स्रोतको दाबी छ।

समकालीन सचिवहरूमध्ये वरिष्ठतामा अगाडि रहेका शर्मा यही साउन २५ गते अनिवार्य अवकाशमा जाँदै थिए। तर अवकाशको केही साताअघि नै उनले पद त्याग्ने निर्णय लिए। स्रोतका अनुसार पछिल्लो समय सरकारले वरिष्ठताको परम्परा तोड्दै कनिष्ठ सचिवलाई मुख्य सचिव नियुक्त गरेपछि उनी थप असन्तुष्ट बनेका थिए। उक्त निर्णयले निजामती प्रशासनभित्र वरिष्ठताको मूल्यांकन कमजोर बनाएको भन्दै धेरै वरिष्ठ कर्मचारी असन्तुष्ट रहेको बताइन्छ।

डा. शर्माले साउन १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका थिए। उनको राजीनामा साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

निजामती प्रशासनमा वरिष्ठ सचिवले कार्यकाल सकिनुअघि नै राजीनामा दिनु सामान्य घटना होइन। प्रशासनिक वृत्तमा शर्माको राजीनामालाई सरकारप्रति असन्तुष्टि र पछिल्ला नियुक्ति तथा जिम्मेवारी वितरणप्रतिको मौन विरोधका रूपमा समेत हेरिएको छ।

२०८३ श्रावण ७, बिहीबार २२:३२ प्रकाशित
ट्रेन्डिङ समाचार