६० हजार रुपैयाँ घुससहित नापी कार्यालय चावहिलका अमिन पक्राउ
काठमाडौं । जग्गाधनी पूर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नापी कार्यालय चावहिलका एक अमिन रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय चावहिल, २ नं. नापी टोलीमा कार्यरत अमिन टोपजङ खत्रीलाई मंगलबार ६० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी प्रमाणपूर्जा बनाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा अख्तियारले निगरानी बढाउँदै विशेष टोली परिचालन गरेको थियो।
निगरानीपछि खत्रीलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४, माकलबारीस्थित कार्यालय परिसरबाट सेवाग्राहीसँग ६० हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान भइरहेको छ।