आयोगको निष्पक्षताप्रति राष्ट्रपतिको प्रशंसा,आयोगको साख र गरिमालाई नयाँ उचाइमा पुर्‍याउने अध्यक्ष रेग्मीको प्रतिबद्धता

लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न


काठमाडौं।लोक सेवा आयोगले आफ्नो ७६औँ वार्षिकोत्सवका अवसरमा विशेष कार्यक्रम आयोजना गरी भव्य रूपमा सम्पन्न गरेको छ।कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै राम चन्द्र पौडेलले राज्य सञ्चालनका लागि आवश्यक स्थायी सरकारका रूपमा रहेको कर्मचारी संयन्त्रको छनोट गर्ने जिम्मेवारी बोकेको लोक सेवा आयोगले योग्यता, निष्पक्षता र स्वच्छतालाई मूल मन्त्र बनाएर कार्य गरिरहेको भन्दै प्रशंसा गरे।

राष्ट्रपति पौडेलले योग्यता र निष्पक्षता आयोगको सबैभन्दा ठूलो सम्पत्ति भएकाले त्यसलाई अक्षुण्ण राख्न आयोग सफल हुने विश्वास व्यक्त गरे। उनले राज्य संयन्त्रलाई परिणाममुखी बनाउन आयोगबाट छनोट हुने कर्मचारीहरू नैतिकवान, सदाचारी र इमानदार हुनुपर्ने आवश्यकता औँल्याए।

“आयोगले असल, उत्कृष्ट र नैतिकवान कर्मचारी छनोट गर्न सकेमा त्यस्ता कर्मचारीहरूले सरकारलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नेछन् र जनतामा सरकारप्रतिको विश्वाससमेत बढ्नेछ,” राष्ट्रपति पौडेलले भने, “त्यसैले सरकारको सफलता पनि कर्मचारीको सदाचारिता र नैतिकतामा निर्भर रहन्छ।”राष्ट्रपति पौडेलले आयोगको कार्यसम्पादन सन्तोषजनक रहेको उल्लेख गर्दै यसलाई अझ उच्च स्तरमा पुर्‍याउनुपर्ने आवश्यकता औँल्याए। जनताका आशा र भरोसाको केन्द्र सुशासन, विकास र समृद्धि भएकाले त्यस्तो परिणाम दिन सक्ने जनशक्ति उत्पादनमा आयोगले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले आयोगले योग्यता, निष्पक्षता र स्वच्छताको मान्यतालाई कायम राख्दै आफ्ना कार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने दिशामा काम गरिरहेको बताए।
अध्यक्ष रेग्मीले आयोगले सरकारलाई दिएका सुझावहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै नेपालको संविधान, २०७२ ले आयोगको भूमिका विस्तार गरेपछि सोही अनुरूप आयोगले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरिरहेको बताए।

उनले सुधारको यात्रामा आयोग निरन्तर अघि बढिरहेको उल्लेख गर्दै भर्ना, परीक्षा तथा छनोट प्रणालीलाई अझ वैज्ञानिक, आधुनिक र प्रभावकारी बनाइने जानकारी दिए। साथै, संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न सरकारलाई आग्रह गरे।
कार्यक्रममा बोल्दै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले आयोगले निष्पक्ष रूपमा दक्ष र योग्य कर्मचारी छनोट गरिरहेको भए पनि अब इमानदार, नैतिक र नागरिकको मन जित्न सक्ने कर्मचारी उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताए।

उनले परीक्षा प्रणालीलाई अझ वैज्ञानिक र आधुनिक बनाउनुपर्नेमा जोड दिए।आयोगका सचिव रामेश्वर दंगालले आयोगले त्रुटिरहित, उत्कृष्ट र प्रभावकारी ढंगले कार्यसम्पादन गरिरहेको बताए।कार्यक्रमको समापनमा आयोगकी सदस्य मञ्जुकुमारीले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै आयोग आगामी दिनमा पनि प्राप्त सुझावहरूलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।सो अवसरमा आयोग तथा मातहतका निकायमा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरू राजकुमार घिमिरे, लक्ष्मी थापामगर, जीवनाथ आचार्य, राजेन्द्र रञ्जितकार लगायतलाई पुरस्कृत गरिएको थियो।त्यसैगरी, आयोगका पूर्व पदाधिकारी तथा कर्मचारीमध्येबाट पूर्व अध्यक्ष उमेश मैनालीलाई सम्मान गरिएको थियो।

२०८३ असार १, सोमबार १६:२६ प्रकाशित
ट्रेन्डिङ समाचार