काठमाडौं । अन्तर्राष्ट्रिय राइड सेयरिङ कम्पनी उबरले नेपालमा औपचारिक रूपमा सेवा सुरु गरेको घोषणा गरे पनि कम्पनी नेपालको कानुनी प्रावधानअनुसार दर्ता नभएको पाइएको छ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार राइड सेयरिङ क्षेत्रमा ७० प्रतिशतभन्दा बढी विदेशी स्वामित्व हुन नपाउने व्यवस्था छ भने ३० प्रतिशत नेपाली स्वामित्व अनिवार्य मानिन्छ। साथै, सेवा सञ्चालनअघि उद्योग विभागमा दर्ता भई अनुमति लिनुपर्ने प्रावधान रहेको छ।
उद्योग विभागका सूचना अधिकारी सुरेश दाहालका अनुसार उबर हालसम्म विभागमा दर्ता भएको छैन र सञ्चालनका लागि कुनै अनुमति पनि लिएको छैन।
यता, यातायात व्यवस्था विभागले राइड सेयरिङसम्बन्धी स्पष्ट कानुन नबनेकाले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने जनाएको छ। यसले उबरको सञ्चालनमाथि निगरानी तथा कारबाही गर्ने निकायबारे अन्योल देखिएको छ।
उबरले शुक्रबारदेखि नेपालमा सेवा सुरु गरेको घोषणा गर्दै २ हजार ५०० भन्दा बढी चालक आबद्ध भएको दाबी गरेको छ। यसअघि याङ्गो पनि नेपालमा दर्ताबिनै सञ्चालनमा आएको थियो।

