सागर पण्डित,काठमाडौं । अध्ययन, असाधारण र बेतलबी विदाको नाममा लामो समयदेखि राज्य संयन्त्रकै सम्पर्कबाहिर रहेका ६ हजार ५८ निजामती कर्मचारीमाथि सरकारले कडा छानबिन प्रक्रिया सुरु गरेको छ ।
भूमिव्यवस्था, सहकारी , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा ती कर्मचारीहरूको वास्तविक अवस्था खोजी गर्न देशव्यापी अभियान थालिएको हो । सरकारी अभिलेखमा विवरण अद्यावधिक नभएका तथा लामो समयदेखि सम्पर्कविहीन कर्मचारीलाई ३ दिनभित्र आफ्नो पछिल्लो विवरण पेश गर्न अल्टिमेटम दिइएको छ ।
निर्धारित समयभित्र सम्पर्कमा नआए कानुनअनुसार विभागीय कारबाहीदेखि बर्खास्तीसम्मको प्रक्रिया अघि बढाइने चेतावनी सरकारले दिएको छ । निजामती सेवा ऐन तथा नियमावलीअनुसार लगातार ९० दिनभन्दा बढी कार्यालयमा अनुपस्थित रहने कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था छ ।
सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीद्वारा जारी विज्ञप्तिमा सम्पर्कविहीन कर्मचारीहरू तत्काल राज्यको सम्पर्कमा आउन आग्रह गरिएको छ । अन्यथा कानुनी कारबाही अपरिहार्य हुने स्पष्ट चेतावनी दिइएको छ ।
राष्ट्रिय किताबखाना (निजामती) को अभिलेखअनुसार विभिन्न प्रकारका विदामा रहेका कुल ७ हजार ५१ कर्मचारीमध्ये केवल ९९३ जनाको मात्रै वैधानिक र स्पष्ट विवरण भेटिएको छ । बाँकी ६ हजार ५८ कर्मचारीको वास्तविक अवस्था भने राज्यसँगै अज्ञात छ ।
यसलाई निजामती प्रशासनभित्रको गम्भीर बेथिति र अभिलेख व्यवस्थापनको भयावह कमजोरीका रूपमा हेरिएको छ ।
सामान्य प्रशासन मन्त्रालयले बिहीबार १६ वटा मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिवहरूलाई मन्त्रालयमै बोलाएर आफ्नो मातहतका कार्यालयमा विदामा रहेका कर्मचारीहरूको वास्तविक अवस्था तत्काल खोजी गर्न निर्देशन दिएको थियो । त्यसपछि विभिन्न मन्त्रालयले सम्पर्कविहीन कर्मचारीहरूको खोजतलास तथा विवरण संकलन अभियान थालेका छन् ।
राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्रवणकुमार पोखरेल ले विवरण अद्यावधिक नगर्ने कर्मचारीहरू कडा कारबाहीको जोखिममा रहेको बताए ।
उनका अनुसार तलबी अध्ययन विदामा रहेका ४ हजार १ सय ३२ कर्मचारीमध्ये ७३१ जनाको मात्रै वैधानिक अवस्था पुष्टि भएको छ भने ३ हजार ४ सय १ जनाको अवस्था अझै अज्ञात छ ।
त्यस्तै, बेतलबी अध्ययन विदामा रहेका १ हजार ४ सय ४५ जनामध्ये केवल १६७ जना मात्रै राज्यको सम्पर्कमा छन् । बाँकी १ हजार २ सय ७८ जनाको कुनै स्पष्ट विवरण फेला परेको छैन ।
असाधारण विदामा रहेका १ हजार ४ सय ४९ कर्मचारीमध्ये ९५ जनाको मात्रै अभिलेख स्पष्ट छ भने १ हजार ३ सय ५४ जना पूर्ण रूपमा सम्पर्कबाहिर रहेको सरकारी तथ्यांकले देखाएको छ ।
“धेरै कर्मचारी अध्ययन वा अन्य विदामा रहेको भनिए पनि व्यवहारमा राज्यकै सम्पर्कमा छैनन् । अब खोजतलासका क्रममा कैफियत भेटिए विभागीय कारबाही हुँदै बर्खास्तीसम्मको प्रक्रिया अघि बढ्छ,” महानिर्देशक पोखरेलले प्रशासनपोस्टसँग भने ।
यसैबीच राष्ट्रिय किताबखाना (निजामती) ले १७ वटै मन्त्रालयलाई पत्राचार गर्दै आफ्नो मातहतमा विदामा रहेका कर्मचारीहरूको वास्तविक अवस्था, कार्यस्थिति र सम्पर्क विवरण तत्काल पठाउन निर्देशन दिएको छ ।
किताबखानाले सम्पर्कविहीन ६ हजार ५८ कर्मचारीको नामावली सम्बन्धित मन्त्रालयहरूलाई पठाइसकेको जनाएको छ । अब सम्बन्धित मन्त्रालयहरूले ती कर्मचारीको वास्तविक अवस्था पुष्टि गर्नुपर्नेछ ।
सरकारी जिम्मेवारीबाट पूर्ण रूपमा अलग भएको, विदाको दुरुपयोग गरेको वा कानुनी प्रक्रिया नै पूरा नगरी लामो समय सम्पर्कबाहिर बसेको पुष्टि भए त्यस्ता कर्मचारीमाथि विभागीय कारबाहीसहित बर्खास्ती प्रक्रिया अघि बढाइने तयारी सरकारले गरेको छ ।


