काठमाडौं । मधेश प्रदेशका बहालवाला प्रदेशसभा सदस्य तथा पूर्वराज्यमन्त्री सरोज कुमार सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई ४ वर्ष १ महिना कैद सजाय सुनाएको छ ।
विशेष अदालतले मंगलबार भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर ठहर गर्दै सिंहलाई ४ वर्ष कैद सजाय तोकेको हो । उनी बहालवाला जनप्रतिनिधि तथा पूर्वराज्यमन्त्रीसमेत भएकाले अदालतले थप १ महिना कैद सजाय जोड्दै कुल ४ वर्ष १ महिना कैद हुने फैसला गरेको छ ।
अदालतले सिंहलाई ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना पनि तोकेको छ । उक्त रकम घुसस्वरूप लिएको ठहर गर्दै सरकारी कोषमा जफत गर्ने आदेश दिइएको छ । त्यसबाहेक ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ अनुसार १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा पीडित राहत कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानअनुसार सिंहले ‘प्रदेश संसदीय विकास कोष’ अन्तर्गत सञ्चालित योजनामा कमिसन असुल्ने सुनियोजित संयन्त्र खडा गरेका थिए । रामगोपालपुर नगरपालिका, मनराशिसवा नगरपालिका र सम्सी गाउँपालिकाका विभिन्न वडामा मन्दिर सौन्दर्यकरण, धर्मशाला निर्माण तथा सडक स्तरोन्नतिसम्बन्धी ८ वटा योजना सञ्चालन गरिएका थिए ।
कानूनअनुसार यस्ता योजनामा स्थानीय उपभोक्ता समिति गठन गरी काम गरिनुपर्ने व्यवस्था भए पनि सिंहले आफ्नै प्रभावमा समिति गठन गराएको अदालतको ठहर छ । समितिका निर्णय लेख्ने, कागजात तयार गर्ने र भुक्तानी प्रक्रिया मिलाउने काम उनका स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत गराइएको थियो ।
अनुसन्धानबाट योजनाका लागि खोलिएका उपभोक्ता समितिका बैंक खातासमेत सिंहकै नियन्त्रणमा रहेको खुलेको छ । लक्ष्मी सनराइज बैंकमा खोलिएका खातामा न्यूनतम मौज्दात राख्नुपर्ने रकमसमेत सिंह आफैंले तिरेका थिए ।
अदालतका अनुसार योजनाको काम उपभोक्ता समितिबाट नभई सिंहले खटाएका व्यक्तिमार्फत गराइएको थियो । अझ गम्भीर कुरा, रकम भुक्तानी हुनुअघि नै उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षबाट खाली चेकमा हस्ताक्षर गराई ती चेक स्वकीय सचिव कायस्थको नियन्त्रणमा राखिएको थियो ।
सरकारबाट रकम खातामा जम्मा भएपछि ती खाली चेक प्रयोग गरी बैंकबाट रकम निकाल्ने गरिएको अनुसन्धानमा खुलेको छ । ८ वटा योजनाका लागि सरकारबाट १ करोड ३६ लाख २७ हजार ४८१ रुपैयाँ निकासा भएकोमा औसत २८.२५ प्रतिशतका दरले कमिसन रकम झिकिएको पाइएको छ ।
अनुसन्धानअनुसार झिकिएको ३८ लाखभन्दा बढी रकम सिंह र उनकी पत्नी सरिता कुमारी महतो सिंहको संयुक्त खातामा जम्मा गरिएको थियो ।
यस प्रकरणमा अख्तियारले सिंहसहित १६ जनाविरुद्ध २०८२ असोज ३० गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यसअघि जेठ ४ गते अदालतले सिंहलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि छुट्टै पेसी तोकेको थियो भने अन्य अभियुक्तलाई सफाइ दिएको थियो । मंगलबार अदालतले अन्तिम सजाय निर्धारण गरेको हो ।


