कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) मा कर्मचारीलाई दिँदै आएको निस्शुल्क दूध तथा घिउ सुविधा हटाएको छ। संस्थानको वित्तीय भार घटाउने, किसानको बक्यौता भुक्तानी सहज बनाउने तथा खर्च व्यवस्थापन सुधार गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
निर्णयपछि कर्मचारीले दैनिक दूध र मासिक घिउ लैजाने व्यवस्था रोकिएको छ। डीडीसीका अनुसार यसबाट वार्षिक करिब ३ करोड रुपैयाँ बचत हुने अनुमान गरिएको छ। बचत रकम किसानको बाँकी भुक्तानी तथा दुग्ध उत्पादन र आपूर्ति प्रणाली सुधारमा प्रयोग गरिने बताइएको छ।