काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी) सँग दूरसञ्चार सेवा दस्तुर (टीएससी) सम्बन्धी विवरण माग्दा मर्मत–सम्भारको वास्तविक खर्च नखुलाउन निर्देशन दिएको भन्दै राजस्व चुहावटको आशंका गरिएको छ।
प्राधिकरणले मंसिर २ गते सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ तथा चालु आर्थिक वर्षको असोजसम्मको टीएससी विवरण १० कार्यदिनभित्र पेस गर्न निर्देशन दिएको थियो। तर, माग गरिएको विवरणमा मर्मत–सम्भारबापतको आम्दानी मात्र उल्लेख गर्न भनिएको छ भने त्यसमा भएको वास्तविक खर्चको विवरण मागिएको छैन।
कानुनी व्यवस्थाअनुसार मर्मत–सम्भारमा भएको वास्तविक खर्चका आधारमा मात्र टीएससी छुट पाउने व्यवस्था छ। तर, अधिकांश आईएसपीको वार्षिक मर्मत–सम्भार खर्च कुल आम्दानीको ४ देखि ७ प्रतिशत मात्र हुने दाबी गरिए पनि उपभोक्ताबाट इन्टरनेट सेवा शुल्कको शतप्रतिशतसम्म रकम मर्मत–सम्भार शीर्षकमा असुल गरिएको आरोप छ।
वास्तविक खर्चभन्दा बढी रकमलाई मर्मत–सम्भार आम्दानीका रूपमा देखाएर टीएससीको कर आधार घटाइएको र यसबाट राज्यलाई अर्बौँ रुपैयाँ राजस्व नोक्सानी भएको विषयमा ठूला करदाता कार्यालय तथा आन्तरिक राजस्व विभागले समेत छानबिन गरेको बताइएको छ।

यसअघि देखिएको टीएससी बक्यौता तथा जरिवाना असुलीमा प्रभावकारी पहल नभइरहेका बेला प्राधिकरणले वास्तविक खर्चको विवरण नै नमागी सूचना जारी गरेपछि नियामक निकायको भूमिकामाथि प्रश्न उठेको छ।
त्यस्तै, आर्थिक ऐनले समग्र दूरसञ्चार सेवामा टीएससी लागू गरेको अवस्थामा प्राधिकरणले इन्टरनेट (इमेलसहित) सेवा प्रदायकलाई मात्र लक्षित गरी सूचना जारी गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।
राजस्व चुहावट नियन्त्रणका लागि सेवा प्रदायकसँग मासिक बिक्री तथा टीएससी दाखिला विवरणसँगै मर्मत–सम्भारको वास्तविक खर्च, बाँकी टीएससी र जरिवानाको बक्यौता विवरणसमेत अनिवार्य रूपमा माग गर्नुपर्ने सरोकारवालाहरूको भनाइ छ।
वास्तविक खर्चको प्रमाणीकरण नगरी सेवा प्रदायकको स्वघोषणाका आधारमा टीएससी छुट दिइए राज्यको राजस्वमा थप नोक्सानी हुनुका साथै उपभोक्तासमेत आर्थिक भारमा पर्ने जोखिम रहेको उनीहरूको भनाइ छ।





प्रतिक्रिया