काठमाडौं । नेपालको वैदेशिक व्यापार सीमित ठूला नाकामा केन्द्रित देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा मुलुकको कुल आयातको ८४.४ प्रतिशत हिस्सा वीरगन्ज, भैरहवा, विराटनगर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट भएको छ।
भन्सार विभागका अनुसार साउन–भदौमा नेपालले ४ खर्ब १ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। त्यसमध्ये यी चार भन्सार कार्यालयबाट मात्रै ३ खर्ब ३८ अर्ब ९० करोड २४ लाख रुपैयाँ बराबरको आयात भएको हो।
आयातमा वीरगन्ज सबैभन्दा अगाडि छ। वीरगन्जबाट १ खर्ब ९७ अर्ब ३५ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन कुल आयातको ४९.१५ प्रतिशत हो। भैरहवाको हिस्सा १५.११, विराटनगरको १२.९३ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ७.२१ प्रतिशत छ।
निर्याततर्फ पनि यही चार भन्सार कार्यालयको दबदबा छ। पहिलो दुई महिनामा ७६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा यी चार कार्यालयबाट मात्रै ६८ अर्ब ४३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। यो कुल निर्यातको ८९.३५ प्रतिशत हो।
निर्यातमा वीरगन्जको हिस्सा ४४.०५ प्रतिशत, विराटनगरको २५.८२ प्रतिशत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको करिब ९.८७ प्रतिशत र भैरहवाको करिब ९.६२ प्रतिशत रहेको छ।
भन्सार तथ्यांकअनुसार ११ वटा भन्सार कार्यालयबाट सो अवधिमा निर्यात शून्य रहेको छ। ती कार्यालयबाट भने ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ बराबरको आयात भएको छ।
पहिलो दुई महिनामा कुल वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। तथ्यांकले नेपालको बाह्य व्यापारको ठूलो हिस्सा केही सीमित स्थल तथा हवाई नाकामा निर्भर रहेको देखाएको छ।

प्रतिक्रिया