बैंकिङ सेयरमा बढ्यो लगानीकर्ताको आकर्षण


काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकका सेयरप्रति लगानीकर्ताको आकर्षण बढेको छ। नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये १२ बैंकको सेयर मूल्य ५२ साताको उच्च विन्दुभन्दा ९ प्रतिशतभित्र कारोबार भइरहेको छ।

सिद्धार्थ बैंकको सेयर ५२ साताको उच्च मूल्यभन्दा केवल ०.६५ प्रतिशत तल छ। नबिल बैंक २.७५ प्रतिशत, नेपाल बैंक ३.७६ प्रतिशत, सानिमा बैंक ५.७८ प्रतिशत र एनएमबी बैंक ६.७२ प्रतिशतको दूरीमा छन्। नेपाल एसबिआई, स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, कृषि विकास र माछापुच्छ्रे बैंकका सेयर पनि वार्षिक उच्च मूल्य आसपास कारोबार भइरहेका छन्।

बैंकिङ क्षेत्रमा आकर्षण बढ्नुमा लाभांश सिजन, बैंकहरुको सुधारिएको नाफा तथा वितरणयोग्य नाफा र तुलनात्मक रूपमा आकर्षक मूल्य–आम्दानी अनुपातलाई मुख्य कारण मानिएको छ। बजार विश्लेषक अजय सिंह थापाले जलविद्युत् तथा बीमा क्षेत्रबाट बाहिरिएको केही रकम बैंकिङ क्षेत्रमा सरेको र लाभांश केन्द्रित लगानी बढेको बताएका छन्।

उनका अनुसार हालको आकर्षणलाई बैंकिङ क्षेत्रको दीर्घकालीन बुल ट्रेन्डका रूपमा भने हेर्न मिल्दैन। लाभांशको अपेक्षा र तुलनात्मक स्थायित्वका कारण बैंकिङ सेयरमा चासो बढेको उनको भनाइ छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार