काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता बढेपछि बैंक तथा वित्तीय संस्थाको १३ खर्ब ६७ अर्ब रुपैयाँ राष्ट्र बैंकमा थुप्रिएको छ। निक्षेप बढ्दै गए पनि कर्जाको माग अपेक्षाकृत कमजोर हुँदा प्रणालीमा अधिक तरलता देखिएको हो।
रेमिट्यान्समा निरन्तर सुधार तथा रसुवा बाढीपछि प्राप्त वैदेशिक सहयोगले पनि तरलता बढाउन योगदान गरेको छ। राष्ट्र बैंकका अनुसार गत साउनमा मात्रै २ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
अधिक तरलताका कारण अन्तरबैंक ब्याजदर घट्न थालेपछि राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत बजारबाट पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतभन्दा तल जान नदिने नीति लिएको छ।
राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँ बराबरको एकमहिने निक्षेप संकलन उपकरण जारी गर्दैछ। यसअघि असोज २ गते ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरिएको थियो।
राष्ट्र बैंकका अनुसार बिहीबार वित्तीय प्रणालीमा करिब ४८ अर्ब रुपैयाँ तरलता रहेको छ। यसअघि स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलनमार्फत राष्ट्र बैंकमा राखिएको रकम परिपक्व हुन लागेकाले पुनः तरलता खिच्न नयाँ उपकरण जारी गरिएको हो।
हाल राष्ट्र बैंकको बैंक दर ५.७५ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ। प्रणालीमा तरलता बढी हुँदा निक्षेप संकलन, स्थायी निक्षेप सुविधा तथा अन्य उपकरणमार्फत पैसा खिच्ने र तरलता अभाव हुँदा रिपो तथा स्थायी तरलता सुविधामार्फत बजारमा पैसा पठाउने व्यवस्था राष्ट्र बैंकले गर्दै आएको छ।

प्रतिक्रिया