काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक, २०८१’ सर्वसम्मत रूपमा पारित गरेको छ।
बिहीबार बसेको समितिको बैठकले दफावार छलफलपछि भाषिक तथा प्राविधिक परिमार्जनसहित विधेयकसम्बन्धी प्रतिवेदन पारित गरेको हो। समितिबाट पारित प्रतिवेदन अब प्रतिनिधि सभाको आगामी बैठकमा पेस गरिनेछ।
वैज्ञानिक विधि र पद्धतिको प्रयोगमार्फत प्रमाणको सङ्कलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले विधेयक ल्याइएको हो। विधेयकले विधि विज्ञानका क्षेत्रमा अध्ययन, अनुसन्धान तथा परीक्षणको दायरा विस्तार गर्ने अपेक्षा गरिएको छ।
समिति सभापति डा. ओजश्वी शेरचनले भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता व्यक्तिको खोज तथा पहिचानका लागि विधि विज्ञान प्रयोगशालाको आवश्यकता थप स्पष्ट भएको बताइन्।
उनले समितिबाट पारित विधेयक बाँकी संसदीय प्रक्रिया पूरा गरी छिट्टै ऐनका रूपमा कार्यान्वयनमा आउने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया