काठमाडौं । भुटानले प्राकृतिक स्रोतबाट प्राप्त पारिस्थितिकीय सेवाको मौद्रिक मूल्य मापन गर्दै सन् २०२४ का लागि आफ्नो ‘ग्रस इकोसिस्टम प्रोडक्ट’ (जीईपी) करिब ६.२ अर्ब अमेरिकी डलर रहेको सार्वजनिक गरेको छ।
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले बिहीबार अमेरिकाको न्युयोर्कमा आयोजित क्लाइमेट विक एन्ड साइन्स समिट–२०२६ मा जीईपी सार्वजनिक गरेका हुन्।
जीईपीले वन, नदी, माटो तथा प्राकृतिक भू–दृश्यबाट प्राप्त हुने पारिस्थितिकीय सेवाको आर्थिक मूल्य मापन गर्छ। यसमा कार्बन सञ्चिति, पानीको नियमन, माटो निर्माण र जैविक विविधता संरक्षणजस्ता सेवाहरू समेटिएका छन्।
परम्परागत रूपमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ले बजारमा उत्पादन भएका वस्तु तथा सेवाको मूल्य मापन गर्छ। तर प्रत्यक्ष बजार मूल्य नहुने धेरै पारिस्थितिकीय सेवा जीडीपीमा समेटिँदैनन्।
भुटान सरकारले प्राकृतिक पुँजीलाई राष्ट्रिय लेखा प्रणालीमा समावेश गर्ने उद्देश्यले जीईपी सार्वजनिक गरेको जनाएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रसँगै आयोजित कार्यक्रममा जीईपी घोषणा गरिएको भुटान सरकारको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया