काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी शुक्रबारदेखि आइतबारसम्म नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ। बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने भएकाले त्यसको प्रभाव नेपालमा पर्ने महाशाखाले जनाएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने पश्चिमी वायुको आंशिक प्रभाव पनि रहेको छ। पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ भने कोसी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का, १० देखि ५० मिलिमिटरलाई मध्यम, ५० देखि १०० मिलिमिटरलाई भारी, १०० देखि २०० मिलिमिटरलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा भनिन्छ।
यस्तै, १० प्रतिशतभन्दा कम भूभागमा वर्षा हुने सम्भावनालाई एक–दुई स्थान, १० देखि ३० प्रतिशतलाई थोरै स्थान, ३० देखि ५० प्रतिशतलाई केही स्थान, ५० देखि ८० प्रतिशतलाई धेरै स्थान र ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुने सम्भावनालाई अधिकांश स्थानमा वर्षा हुने भनिन्छ।

प्रतिक्रिया