काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई चीनले २० लाख अमेरिकी डलर नगद सहायता उपलब्ध गराउने भएको छ।
चीनले पहिलो चरणमा अत्यावश्यक राहत सामग्रीसहित दुईवटा सैन्य कार्गो विमान नेपाल पठाउने तयारी गरेको छ। बाढी प्रभावित नागरिकका लागि आवश्यक खाद्यान्न, स्वास्थ्य सामग्री तथा अन्य राहत सामग्री विमानमार्फत ल्याइने जनाइएको छ।
त्यसैगरी, सुरुङ उद्धार तथा प्राविधिक कार्यमा विशेषज्ञता भएका दुईवटा उद्धार टोली पनि नेपाल पठाउने चीनको तयारी छ। जलविद्युत आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा फसेका व्यक्तिको खोज तथा उद्धारमा ती टोली परिचालन गरिने बताइएको छ।
भोटेकोशी क्षेत्रमा बाढीका कारण जलविद्युत आयोजना, बस्ती तथा महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको छ। सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सुरक्षाकर्मी तथा स्थानीय टोलीले ड्रिलिङलगायत प्रविधि प्रयोग गरी खोज तथा उद्धार जारी राखेका छन्।
चीनबाट आउने विशेषज्ञ टोलीको प्राविधिक सहयोगले उद्धार अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


