काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि खोज, उद्धार, उपचार तथा राहत वितरणलाई तीव्र पारिएको छ। नेपाली सेनाका अनुसार आज भदौ १३ गते दिउँसो १२ः३० बजेसम्म ४ चिनियाँ र ३ भारतीय नागरिकसहित ४४ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
भदौ १२ गतेदेखि त्रिशूली–३ जलविद्युत् आयोजनाको टनेलमा फसेका टोलीको उद्धारका लागि संयुक्त उद्धार टोली परिचालन गरिएको छ। टोलीले ड्रिलिङ मेसिनलगायत आधुनिक उपकरण प्रयोग गरी टनेलको बाहिरी भाग पत्ता लगाएर सुरक्षित पहुँच बनाउने प्रयास गरिरहेको छ।
बाढी प्रभावित जिल्लामा नेपाली सेनाका ७ हजारभन्दा बढी फौज परिचालन गरिएको छ। सेनाले स्थानीय तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी घाइते तथा प्रभावितको खोज तथा उद्धार, आपत्कालीन उपचार, राहत वितरण, शव व्यवस्थापन तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम गरिरहेको जनाएको छ।
सडक सम्पर्क विच्छेद भएका तथा दुर्गम क्षेत्रबाट प्रभावितको हेलिकप्टरमार्फत उद्धार जारी रहेकाले टनेलमा फसेकाहरूको उद्धारलाई समेत उच्च प्राथमिकतामा राखिएको छ।


