- दौडमा रहेका सचिव मध्ये कसले मार्ला गृहसचिवमा बाजी ?
काठमाडौं । गृहसचिव राजकुमार श्रेष्ठ आगामी भदौ १६ गते सचिवको पाँचवर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन्। उनको अवकाशसँगै रिक्त हुने गृहसचिवको कुर्सीका लागि प्रशासनिक वृत्तमा अहिलेबाटै दौडधुप सुरु भएको छ।
सरकारका १७ वटा मन्त्रालयमध्ये गृह मन्त्रालयलाई प्रशासनिक र राजनीतिक दुवै दृष्टिले सबैभन्दा संवेदनशील मन्त्रालय मानिन्छ। त्यसैले अन्य मन्त्रालयका सचिवभन्दा गृहसचिव बन्न सचिवहरूको विशेष आकर्षण देखिने गरेको छ। गृहसचिवको जिम्मेवारीमा मुलुकको शान्ति–सुरक्षा, समग्र सुरक्षा प्रशासन, अपराध नियन्त्रण, प्रमुख जिल्ला प्रशासनदेखि प्रहरी प्रशासनसँगको समन्वयलगायत अत्यन्त संवेदनशील विषय जोडिएका हुन्छन्।
श्रेष्ठको अवकाश नजिकिएसँगै विभिन्न मन्त्रालयमा कार्यरत सचिवहरूले गृहसचिव बन्न आ–आफ्नो रणनीति बनाउन थालेका छन्। तर यसपटक भने प्रत्यक्ष दौडधुप र खुलेआम लबिङभन्दा पनि ‘पावर सेन्टर’सम्म पहुँच पुर्याउने रणनीतिमा सचिवहरू लागेको प्रशासनिक वृत्तमा चर्चा छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्ला सचिव छनोट तथा जिम्मेवारी हेरफेरमा प्रधानमन्त्रीको सचिवालय र सल्लाहकार समूहको प्रभाव बलियो देखिएको चर्चा हुँदै आएको छ। यही कारण गृहसचिवको छनोटमा पनि प्रशासनिक क्षमता, वरिष्ठता र अनुभवसँगै प्रधानमन्त्रीको सचिवालयको विश्वास महत्वपूर्ण बन्न सक्ने अनुमान कर्मचारी वृत्तमा गरिएको छ।
गृहसचिवका आकांक्षीमा आधा दर्जन सचिव
गृहसचिवका लागि आकांक्षा राख्ने सचिवहरूमा श्रम मन्त्रालयका सचिव दीपक काफ्ले, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, महिला, बालबालिका मन्त्रालयका सचिव कृष्णबहादुर राउत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेललगायतको नाम चर्चामा आएको छ। क्षमताको हिसाबले अर्थ सचिव घनश्याम उपाध्यायको नाम पनि गृह सचिवको लागि चर्चा छ ।
यीमध्ये कतिपय सचिवले आफू गृहसचिवको आकांक्षी भएको प्रत्यक्ष रूपमा देखाउनुभन्दा विभिन्न माध्यममार्फत आफ्नो पक्षमा वातावरण बनाउन खोजिरहेको बताइन्छ।
‘अहिले खुलेर दौडधुप गर्दा उल्टै नकारात्मक सन्देश जान सक्छ’ भन्ने बुझाइका कारण आकांक्षी सचिवहरू प्रत्यक्ष भेटघाटभन्दा विश्वासिला माध्यम र विभिन्न सम्पर्क सूत्रमार्फत प्रधानमन्त्रीको सचिवालयसम्म आफ्नो पहुँच विस्तार गर्ने रणनीतिमा रहेको प्रशासनिक स्रोतको दाबी छ।
यद्यपि गृहसचिवजस्तो संवेदनशील पदमा कसलाई लैजाने भन्ने विषयमा अन्तिम निर्णय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भएकाले अहिले चर्चामा रहेका नाममध्ये कोही पनि निश्चित भइसकेका छैनन्।
गृहसचिव सामान्य सचिव पद होइन
गृहसचिवको जिम्मेवारी अन्य मन्त्रालयका सचिवको तुलनामा निकै फरक र संवेदनशील हुन्छ। मुलुकको शान्ति–सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण गर्ने, कानुनको प्रभावकारी कार्यान्वयन गराउने, जिल्ला प्रशासनलाई प्रभावकारी बनाउने तथा सुरक्षा निकायसँग समन्वय गर्ने जिम्मेवारी गृह प्रशासनको केन्द्रमा हुन्छ।
कार्यविभाजन नियमावलीले अन्य मन्त्रालयको कार्यक्षेत्रमा स्पष्ट रूपमा नपरेका विषयसमेत गृह मन्त्रालयको जिम्मेवारीमा रहने व्यवस्था गरेको छ। त्यसैले गृहसचिवको जिम्मेवारी प्रशासनिक नेतृत्वसँगै संकट व्यवस्थापन, सुरक्षा समन्वय र राज्यको कानुनी शासनसँग समेत प्रत्यक्ष जोडिन्छ।
यही कारण गृहसचिवका रूपमा प्रशासनिक क्षमता, निर्णय क्षमता, संकट व्यवस्थापनको दक्षता, इमानदारी, नैतिकता र निष्पक्षता भएका व्यक्तिलाई अघि सार्नुपर्ने प्रशासनविद्हरूको धारणा छ।
‘गुडबुक’ कि कार्यक्षमता ?
गृहसचिव नियुक्तिको चर्चासँगै अहिले प्रशासनिक वृत्तमा अर्को प्रश्न पनि उठेको छ– गृहसचिव छनोटमा कार्यक्षमता र अनुभव निर्णायक हुन्छ कि राजनीतिक तथा प्रशासनिक पहुँच ?
सरकारले परिणाम दिन सक्ने, सुरक्षा प्रशासनको गहिरो ज्ञान भएको, निर्णय लिन सक्ने र चौबीसै घण्टा सक्रिय भएर काम गर्न सक्ने सचिवलाई गृहको नेतृत्व दिनुपर्ने आवाज उठिरहेको छ।
विशेषगरी गृह प्रशासनका विभिन्न तहमा लामो समय काम गरेका, जिल्ला प्रशासनदेखि मन्त्रालयसम्मको कार्यशैली बुझेका र सुरक्षा निकायसँग प्रभावकारी समन्वय गर्न सक्ने व्यक्तिलाई गृहसचिव बनाउँदा सरकारको सुशासनको लक्ष्यसमेत बलियो बन्न सक्ने प्रशासनविद्हरू बताउँछन्।
गृह प्रशासनको भित्री संरचना, सुरक्षा संयन्त्रको कार्यशैली र प्रहरी प्रशासनको नाडी बुझेको सचिवले मात्र गृहसचिवको संवेदनशील जिम्मेवारी प्रभावकारी रूपमा सम्हाल्न सक्ने उनीहरूको तर्क छ।
‘एसम्यान’ होइन, संकटमा निर्णय लिन सक्ने सचिव चाहिन्छ
गृहसचिव पदमा नियुक्त हुने व्यक्ति प्रधानमन्त्री वा कुनै शक्ति केन्द्रको निकटताका आधारमा नभई राज्यको आवश्यकता र प्रशासनिक क्षमताका आधारमा चयन हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
सरकारले यदि प्रधानमन्त्रीको सचिवालय वा सल्लाहकार समूहसँग निकट रहेका व्यक्तिलाई मात्र प्राथमिकता दिने हो भने गृहसचिवजस्तो संवेदनशील पदको गरिमा र संस्थागत स्वायत्ततामाथि प्रश्न उठ्न सक्ने उनीहरूको चेतावनी छ।
गृहसचिवले सरकारको राजनीतिक नेतृत्वसँग समन्वय गर्दै प्रशासनिक निष्पक्षता कायम राख्नुपर्ने हुन्छ। त्यसैले ‘हो मा हो मिलाउने’ भन्दा कानुनअनुसार निर्णय गर्न सक्ने, राजनीतिक दबाबका बीच पनि संस्थागत हितमा अडिन सक्ने र सुरक्षा प्रशासनलाई परिणाममुखी बनाउन सक्ने व्यक्तिको आवश्यकता रहेको प्रशासनिक वृत्तमा चर्चा छ।
पुराना अनुभवलाई पनि नजरअन्दाज नगर्न सुझाव
गृह प्रशासनमा लामो समय काम गरेका तथा सुरक्षा प्रशासनको अनुभव भएका सचिवहरूमध्येबाट सक्षम व्यक्तिको छनोट गर्न सके गृह प्रशासनलाई थप प्रभावकारी बनाउन सकिने सरोकारवालाहरूको धारणा छ।
गृह प्रशासनको लोटाचोटा बुझेको, जिल्ला प्रशासनको व्यवहारिक अनुभव भएको, सुरक्षा निकायसँग समन्वय गर्न सक्ने र प्रशासनिक नेतृत्वलाई परिणाममुखी बनाउन सक्ने व्यक्तिलाई जिम्मेवारी दिँदा शान्ति–सुरक्षा र सुशासन दुवै क्षेत्रमा सकारात्मक प्रभाव पर्न सक्ने उनीहरू बताउँछन्।
अब भदौ १६ पछि गृहसचिवको कुर्सीमा को पुग्छ भन्ने विषयले प्रशासनिक वृत्तमा मात्र होइन, सुरक्षा संयन्त्रमा समेत चासो बढाएको छ।
सरकारका लागि यो केवल एक सचिवको सरुवा वा नियुक्तिको विषय होइन। गृह प्रशासनको नेतृत्व कसले गर्छ भन्ने निर्णयले सरकारको शान्ति–सुरक्षा, सुशासन र कानुनी शासनप्रतिको दृष्टिकोणसमेत प्रतिविम्बित गर्नेछ।
अब मुख्य प्रश्न एउटै छ– सरकारले गृहसचिवमा ‘पावर सेन्टर’को विश्वास जितेको व्यक्तिलाई अघि सार्छ कि प्रशासनिक क्षमता, अनुभव र निष्पक्षतामा अब्बल सचिवलाई ?


