काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किने भएपछि उनको स्वागतका लागि काठमाडौंमा तीन स्थानमा कार्यकर्ता भेला हुने भएको छ।
कांग्रेसको संस्थापन इतर समूहका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट, नमस्ते गेट र तिलगंगा आँखा अस्पताल अगाडि कार्यकर्ता भेला हुनेछन्। स्वास्थ्य उपचारका लागि १३ फागुनमा सिंगापुर गएका देउवा थाई एयरवेजको उडानमार्फत मध्याह्न काठमाडौं आइपुग्ने कार्यक्रम छ।
देउवाको स्वागतका लागि राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा कांग्रेसका शीर्ष नेताहरू विमानस्थल पुग्नेछन्। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरू पनि सहभागी हुने बताइएको छ।
विमानस्थलबाट देउवालाई सांस्कृतिक बाजागाजासहितको झाँकीले स्कर्टिङ गर्दै लैजाने तयारी गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका कार्यकर्तालाई पार्टीको झण्डा र देउवाको तस्बिरसहित उपस्थित हुन निर्देशन दिइएको छ।
कांग्रेसको आधिकारिकताको विवाद पुनः सर्वोच्च अदालतमा पुगेका बेला देउवा स्वदेश फर्किन लागेका हुन्।


