लामो समयदेखि रोकिएको सचिव बढुवा प्रक्रिया शुरु, प्रशासन सेवाका ७ रिक्त पदमा छिट्टै पदपूर्ति

बढुवाको मुखमा रहेका सहसचिवलाई ‘३०–५१’ र ५५ वर्षे अवकाश प्रावधानको त्रास


काठमाडौं । सरकारले लामो समयदेखि रोकिएको सचिव बढुवा प्रक्रिया अघि बढाएको छ । प्रशासन सेवातर्फ रिक्त रहेका सात सचिव पदमा पदपूर्ति गर्न प्रक्रिया थालिएको हो ।

सचिव बढुवा सिफारिस समितिको बैठक बसेर रिक्त पदको विवरण यकिन गर्दै बढुवा प्रक्रिया अघि बढाउने तयारी गरिएको भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  जनाएको छ । प्रशासन सेवातर्फ हाल सात सचिव पद रिक्त रहेको र ती पदमा छिट्टै पदपूर्ति गरिने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव द्योलक ढकालका अनुसार विभिन्न कारणले रिक्त भएका सचिव पदको अवस्था पहिचान भइसकेको छ ।“अहिले प्रशासन सेवामा सात सचिव पद रिक्त देखिएकाले ती पदमा पदपूर्ति प्रक्रिया थालेका छौँ । छिट्टै पदपूर्ति हुनेछ,” सहसचिव ढकालले प्रशासनपोस्टसँग भने ।

सात पदका लागि बढुवा प्रक्रिया अघि बढ्दै

प्रशासन सेवातर्फ रिक्त सचिव पदमा बढुवा सिफारिसका लागि सम्भावित सहसचिवहरुको विवरण संकलन तथा विश्लेषणको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

कानुनी व्यवस्थाअनुसार लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने सचिव बढुवा सिफारिस समिति ले योग्य उम्मेदवारको मूल्यांकन गरी सचिव बढुवाका लागि सिफारिस गर्नेछ । उक्त समितिको सचिवालय सामान्य प्रशासन मन्त्रालयमा रहने व्यवस्था छ ।

मन्त्रालयको सचिवालयले रिक्त पदको विवरण यकिन गर्दै सचिव बढुवाका लागि सम्भावित सहसचिवहरुको सूची तयार पार्ने लगायतका प्रारम्भिक काम अघि बढाइसकेको छ । लोकसेवा आयोगको अध्यक्षतामा हुने सचिव बढुवा सिफारिस समितिको बैठक आज नै बसेर प्रशासन सेवा तर्फ रिक्त रहेका ७ जना सचिवहरुको पदपूर्ति प्रक्रिया थालिने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ

यससँगै गत चैतदेखि रोकिएको सचिव बढुवा प्रक्रियाले गति लिने भएको छ ।

बढुवाको मुखमा रहेका सहसचिवलाई राहत, तर ‘३०–५१’ को दबाब कायमै

सचिव बढुवा प्रक्रिया लामो समय रोकिँदा बढुवाको लाइनमा रहेका वरिष्ठ सहसचिवहरु प्रभावित हुँदै आएका थिए । रिक्त पदमा बढुवा प्रक्रिया अघि बढ्ने भएपछि उनीहरुलाई केही राहत मिल्ने देखिएको छ ।

तर संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ५५ वर्षे अवकाश तथा ३०–५१ वर्षको अनिवार्य अवकाशसम्बन्धी प्रावधान ले भने बढुवाको मुखमा रहेका सहसचिवहरुमा त्रास  अझै कायमै राखेको छ ।

विशेषगरी लामो समयदेखि सचिव बढुवाको प्रतीक्षामा रहेका कतिपय सहसचिव विधेयकमा प्रस्तावित अवकाशसम्बन्धी व्यवस्थाका कारण बढुवा हुनुअघि नै सेवाबाट बाहिरिनुपर्ने जोखिममा छन् ।

यसले सचिव बढुवाको प्रतीक्षामा रहेका सहसचिवबीच अन्योल र त्रास बढाएको छ ।

ओ एण्ड एमसँगै प्रशासनिक संरचनाको अन्तिम हिसाब

सरकारले विभिन्न मन्त्रालय तथा निकायको संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षण अघि बढाइरहेको अवस्थामा सचिव पदको दरबन्दीसम्बन्धी अवस्था पनि क्रमशः स्पष्ट हुँदै गएको छ ।

केही मन्त्रालयको ओ एण्ड एम प्रक्रिया अझै पूरा हुन बाँकी रहेकाले तल्लो तहका कर्मचारीको दरबन्दी तथा संरचनाको अन्तिम विवरण फाइनल हुन बाँकी छ । तर सचिव तहको रिक्त पद भने पहिचान भइसकेकाले बढुवा प्रक्रिया रोकिराख्नुपर्ने अवस्था नरहेको मन्त्रालयको निष्कर्ष छ । मन्त्रालयले प्रशासन पछि प्राविधिक र कृषि वन तर्फ रिक्त रहेका सचिवहरुको पनि पदपूर्ति प्रक्रिया थालिने जनाएको छ ।

२०८३ श्रावण २८, बिहीबार ०९:२३ प्रकाशित
ट्रेन्डिङ समाचार