काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा कर्मचारी दरबन्दी पुनःमिलान गरेको छ। नयाँ सर्वेक्षणअनुसार मन्त्रालयअन्तर्गतको कुल दरबन्दी ४ हजार ४८२ बाट बढाएर ४ हजार ६११ पुर्याइएको छ।
नयाँ ओएण्डएममा सहसचिवको दरबन्दी भने घटाइएको छ। यसअघि ७५ जना सहसचिवको दरबन्दी रहेकामा ९ जना घटाएर ६६ कायम गरिएको छ। सचिवको एक दरबन्दी भने यथावत् राखिएको छ।
त्यस्तै, उपसचिवको दरबन्दी १५५ बाट बढाएर १६१, शाखा अधिकृतको ५९१ बाट ६४४, नायब सुब्बाको १ हजार ३७० बाट १ हजार ४२१ र खरिदारको ७१४ बाट ७१७ पुर्याइएको छ।
स्वास्थ्य सेवातर्फ ८ दरबन्दी थप गरी १३८ बाट १४६ तथा श्रेणीविहीन कर्मचारीको दरबन्दी १ हजार ४३८ बाट बढाएर १ हजार ४५५ पुर्याइएको छ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार नयाँ ओएण्डएम प्रतिवेदन स्वीकृत भइसकेको छ। यसको कार्यान्वयन भने सुरु भइसकेको छैन। मन्त्रालयको प्रशासन महाशाखाका अनुसार निर्णय छिट्टै कार्यान्वयनको चरणमा जानेछ।



