काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
साह यसअघि पनि नेपाल आयल निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। उनी खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत कार्यकारी निर्देशक पदमा छनोट भएका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धामा साहसँग प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव पनि प्रतिस्पर्धामा थिए। अन्तिम छनोटमा उनीहरूलाई पछि पार्दै साह कार्यकारी निर्देशक नियुक्त भएका हुन्।
यसअघि निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट कार्यरत थिए। सरकारले सार्वजनिक संस्थानका विभिन्न पदाधिकारीको नियुक्ति खारेज गरेसँगै भट्ट पदमुक्त भएका थिए।
२०८३ श्रावण २१, बिहीबार १५:०४ प्रकाशित


