धनुषामा मन्दिर परिसरमा पुरुषको हत्या, धार्मिक कोणबाट नहेर्न प्रहरीको अनुरोध
काठमाडौँ । धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित मन्दिर परिसरमा करिब ४० वर्षीय बन्ठु राउत मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले मृतक मन्दिरका पुजारी नभई बाहिर कामकाज गरी मन्दिरमा बस्ने व्यक्ति रहेको जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले घटना आपराधिक व्यक्तिहरूबाट भएको देखिएको छ। घटनास्थलमा कुकुरसहितको अनुसन्धान टोली परिचालन गरिएको छ भने विस्तृत अनुसन्धान जारी छ।
यस घटनालाई धार्मिक विवादसँग नजोड्न र सामाजिक सद्भाव तथा शान्ति कायम राख्न प्रहरीले सबैसँग अपिल गरेको छ। साथै घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ।