काठमाडौं । झापाको मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०८२/८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ११ प्रतिशत अर्थात् रु एक अर्ब ७४ करोड ६० लाख ४५ हजार बढी हो।
राजस्व वृद्धि भए पनि कार्यालयले रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजारको वार्षिक लक्ष्य भने पूरा गर्न नसकी करिब ९३ प्रतिशत मात्र हासिल गरेको जनाएको छ। मेची नाका पूर्वी नेपालको प्रमुख आयात–निर्यात केन्द्र हो, जहाँबाट चिया, अलैँची, अदुवा र छुर्पीलगायत वस्तु निर्यात तथा पेट्रोलियम पदार्थ, लत्ताकपडा र औद्योगिक सामग्री आयात हुँदै आएका छन्।